दार्चुला काँग्रेस : मतगणना स्थल बाहिर झडप, धामी पक्षका केही कार्यकर्ताहरू घाइते

दार्चुला काँग्रेस : मतगणना स्थल बाहिर झडप, धामी पक्षका केही कार्यकर्ताहरू घाइते

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थल दार्चुला विकास सङ्गठनको हल नजिक झडप भएको छ । सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबिच झडप भएको हो ।

अमरसिंह धामी पक्षका एक नेताका अनुसार बोहरा पक्षले धामी पक्षका कार्यकर्ताहरूलाई मतगणना स्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो ।

झडपमा धामी पक्षका केही कार्यकर्ताहरू घाइते भएका छन् । घाइते हुनेहरूमा राजेन्द्र विष्ट, सुरेश विष्ट, बसन्त बहादुर साउँद लगायत रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको स्रोतले बताएको छ । तीन जनालाई बढी चोट लागेको र झन्डै एक दर्जन कार्यकर्ता घाइते रहेको बताइएको छ ।

नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको हो ।जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ ।