अध्यक्ष ओलीले भने-'नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ'

अध्यक्ष ओलीले भने-'नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताउनुभएको छ ।

चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधन गर्दै उहाँले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्नेसमेत बताउनुभयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर त्यसलाई संविधानको अङ्ग बनाएको तर त्यो जमिन फिर्ता लिएपछि मात्रै आत्मसम्मान हुने अध्यक्ष ओलीले बताउनुभयो । जग्गा फिर्ता नलिएसम्म दबिएको र हेपिएको अनुभूति भइरहने उहाँको भनाइ छ ।

ठूला–साना, गरिब–धनी जे भए पनि सबै देशको सार्वभौमसत्ता समान रहने र समान हिसाबले व्यवहार हुनुपर्नेमा उहाँको जोड छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता चाहेको उहाँको भनाइ छ ।

साथै अध्यक्ष ओलीले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्नेसमेत बताउनुभएको छ ।