टी–२० विश्व कप एसिया छनाेट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

टी–२० विश्व कप एसिया छनाेट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ६ विकेटले हराएको छ ।

आज शुक्रवार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि सीता राना मगरले ३०, रुबिना क्षेत्रीले २० र सरिता मगरले नटआउट १५ रन बनाइन् । बलिङतर्फ मलेसियाका तर्फबाट आइसेया इलेसाले एक विकट लिइन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रन बनायो । बलिङतर्फ नेपालका तर्फबाट सबनम राईले दुई विकेट लिँदा कविता कुँवर, सीता राना मगर र रुबिना क्षेत्रीले एक विकेट लिइन् ।

यो जितसँगै नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै आउँदो वर्ष हुने टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।