सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवासहितको पशु अस्पताल सञ्चालन

रासस    

सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवासहितको पशु अस्पताल सञ्चालन

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरमा शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा आएको छ। साना पशुहरूको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा ल्याएको हो।

सञ्चालनमा ल्याइएको अस्पतालमा पशुको उपचारसँगै शल्यक्रिया गर्ने सुविधासमेत उपलब्ध रहेको केन्द्रका पशु विकास अधिकृत शंकरदत्त जोशीले बताए । 'पशुको कुनै कारणले मृत्यु भएमा पोष्टमार्टम गर्नुपर्ने भएमा त्यसको व्यवस्थासमेत अस्पतालबाटै उपलब्ध हुन्छ,'उनले भने, 'त्यसका लागि अलग्गै कक्षको व्यवस्था गरिएको छ।'

अस्पताल सञ्चालनका लागि मन्त्रालयको ३४ लाख ११ हजार ७७६ रुपैयाँ लागतमा नयाँ भवनसमेत निर्माण गरिएको छ। नयाँ भवनमा अस्पताल सञ्चालनका लागि छ वटा कोठा छन् । अस्पतालमा अत्यावश्यक सुविधासहितको शल्यक्रिया गर्ने कक्षसँगै अल्ट्रासाउण्ड मेसिन, एक्सरे मेसिन, कम्प्युटर, ल्याबलगायत रहेका छन्।

अस्पतालमा दक्ष जनशक्तिसहित उच्चस्तरीय उपचार उपलब्ध हुने उनको भनाइ छ। अस्पतालमा एक दरबन्दीका र एकजना करारका गरी दुई जना पशु चिकित्सक कार्यरत छन्। अल्ट्रासाउण्ड, एक्सरे मेसिन सञ्चालन गर्नका लागि केही दिनभित्रै प्राविधिकको व्यवस्था गरी अस्पताललाई पूर्णक्षमताका साथ सञ्चालन गरिने बताइएको छ। अस्पताल सञ्चालन आएको दुई दिनमै एउटा कुकुरको बन्ध्याकरण र मलद्वार नभएको पाठीको शल्यक्रिया गरिएको छ।

'गाई, भैँसीबाहेक अन्य साना सबै घरपालुवा जनावरको अस्पतालमा सहजरूपमा उपचार हुन्छु केन्द्रका कार्यालय प्रमुख पानसिंह ठगुन्नाले भने, 'पहिला शल्यक्रियासहितको उपचारको व्यवस्था नहुँदा पशुपालक किसानले निकै सास्ती खेप्नु पर्दथ्यो। अस्पताल सञ्चालनमा आएपछि पशुसम्बन्धी सबै रोगको निदान अस्पतालबाटै हुन्छ।'

औषधि, परामर्श र शल्यक्रियासहितको सेवा अस्पतालबाट पाइने उनले बताए। अस्पतालबाट पशुपालक किसानलाई सहज रूपमा सेवा दिनका लागि अस्पताललाई व्यवस्थित पारिएको उनको भनाइ छ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामीले महेन्द्रनगरमा शल्यक्रियासहितको पशु अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिँदै केही दिनभित्रै कैलालीको धनगढीमा समेत पशु अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए। क्रमशः प्रदेशका नौ वटै जिल्लामा सुविधासहितको पशु अस्पताल स्थापना गर्दै लैजाने लक्ष्य मन्त्रालयले लिएको उनले बताए।

'शल्यक्रियासहितका पशु अस्पतालमा आवश्यक औषधि, उपकरण, औजार, सुविधा सम्पन्न भवन र दक्ष जनशक्तिको व्यवस्थासमेत गरिन्छ,'उनले भने,'व्यावसायिक पशु पंक्षी व्यवसायमा लागेका किसानलाई गुणस्तरीय सेवा उपलव्ध गराउने लक्ष्य रहेको छ।'



शनिबार ११, मङि्सर २०७८ ११:२६ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस