अपाङ्गता समावेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न

अपाङ्गता समावेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी । धनगढीमा प्रदेश स्तरीय अपाङ्गता समावेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई सक्रिय जीवन निर्वाह गर्न सक्षम हुने गरी प्रदान गरिने चिकित्सकीय सेवा, जीवन उपयोगी सीप तथा व्यावसायिक तालिम, सहायक सामग्री, औषधी उपचार, नियमित परामर्श सेवामा पहुँच पु¥याउन आवश्यक पूर्वाधारहरूको जानकारी गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका सहभागीहरूले समावेशी स्वास्थ्य अझै पनि सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सचिवालय सदस्य रमेश पोखरेलले आफूहरूका समस्या कागजमा मात्रै समाधान भएको बताएका छन् । संविधानले सपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन नभएको उनको गुनासो छ ।

निर्माण भएका सरकारी संरचनामा पहुँचयुक्तता र मैत्रीपूर्ण व्यवहार समेत नभएको उनले बताए । “सरकारी भौतिक संरचनाहरू समेत अपाङ्गता मैत्री छैनन्,’उनले भने,‘अब निर्माण हुने संरचनाहरू अपाङ्ग मन्त्री बनाउनु पर्छ ।” कुनै सेवा लिनको लागि सरकारी कार्यालय जानु पर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या हुने गरेको छ । सरकारी संरचना अपाङ्गमैत्री बनाउन उनले माग गरेका हुन ।

यस्तै स्वास्थ्यमा पनि आफूहरूले सहजै रूपमा सेवा पाउन मुस्किल हुने गरेको उनीहरूको गुनासो छ । सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने औषधी पनि आफूहरूले नपाएको कतिपय अपाङ्गता भएका व्यक्तिहरू बताउँछन् । स्थानीय पालिकाहरूमा अपाङ्गताका लागि हेल्प डेस्क समेत नभएको राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सचिवालय सदस्य पोखरेलले बताए ।

अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यमा विशेष गरी स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरूले सहयोग गर्नु पर्ने उनको माग छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लाल बहादुर धामीले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यको सवालमा आफूहरू सधैँ सचेत र सजक रहेको बताए । “समन्वयको अभाव हुँदा मात्रै समस्या भएको हो,’उनले भने, ‘आफूहरूले सधैँ अपाङ्गता भएका व्यक्तिको पक्षमा काम गर्दै आएका छौँ ।”

यस्तै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि प्रशस्त कानुहरू बनेको जानकारी दिए । साथै सुदूरपश्चिम प्रदेश सरकारले पनि अपाङ्गता सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा अन्तिम छलफलको क्रममा रहेको उनको भनाई छ ।

प्रदेश सरकारले अपाङ्गताको क्षेत्रमा आर्थिक वर्ष २०७८–०८९ को लागि मात्रै प्रत्यक्ष करिब २ करोड ९७ लाख ५० हजार बजेट विनियोजन गरेको उनले बताए ।