सामुदायिक विद्यालय अदुवा बेचेर आर्थिक अभाव टार्दै

सामुदायिक विद्यालय अदुवा बेचेर आर्थिक अभाव टार्दै

विद्यालय चलाउन अदुवाखेती गरेको रोल्पाको एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ ।

रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।

‘आर्थिक अभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवा बिक्री वितरण गर्दै हिँडेका छौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने । उनका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ । 

‘यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौं,’ विद्यालयका शिक्षक होमबहादुर खड्काले भने, ‘उत्पादितमध्ये ५ क्वीन्टल निकालिसकेका छौं, अरु निकाल्न बाँकी छ ।’

विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरूप वितरण गरिरहेको जनाएको छ ।

विद्यालय आफैंले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग संकलन गर्न कोसेलीस्वरूप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।

कोसेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरूको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको छ ।