एक व्यक्तिले धेरै खाना खाएको भन्दै लगाइयो रेष्टुरेन्टमा प्रतिबन्ध

एक व्यक्तिले धेरै खाना खाएको भन्दै लगाइयो रेष्टुरेन्टमा प्रतिबन्ध

चीनको पेट भरिने गरी खाना खान पाउने रेष्टुरेन्टले एक व्यक्तिलाई प्रतिबन्ध लगाएको छ। अत्यधिक खाना खाएको भन्दै उनलाई रेष्टुरेन्टमा प्रतिबन्ध लगाइएको हो। चीनको चाङ्सा सहरमा काङ नाम गरेका व्यक्तिलाई हान्डाडी सीफूड बीबीक्यु बफेटमा खानाको लागि प्रतिबन्ध लगाइएको हो।

बीबीसीका अनुसार उक्त रेष्टुरेन्टमा पहिलोपटक भ्रमण गर्दा काङले साढे एक किलो सुंगुरको मासु खाएका थिए। दोस्रो पटकको भ्रमणमा उनले साढे तीन देखि चार किलोसम्म झिंगे माछा खाएका थिए।

काङले रेष्टुरेन्टले भेदभावपूर्ण तरिकाले आफूलाई प्रतिबन्ध लगाएको बताएका छन्। ‘म धेरै खान सक्छु, के यो मेरो गल्ती हो?’, उनले भनेका छन्। उनले आफूले कुनै पनि खाना खेर नफालेको बताएका छन्। यद्यपि रेष्टुरेन्टका मालिकले भने उनले खाना आफ्नो गोजीमा राखेर घर जाने गरेको आरोप लगाएका छन्।

प्रत्येक पटक उनी रेष्टुरेन्टमा आउँदा सयौं रकमको नोक्सानी हुने गरेको रेष्टुरेन्टका मालिकको भनाइ छ।काङले एकपटकमा २० देखि ३० बोतलसम्म भटमासको दूध पनि खाने गरेको रेष्टुरेन्टका मालिकले बताएका छन्। यससँगै अब उनलाई रेष्टुरेन्टमा कुनै पनि खानाको लागि प्रतिबन्ध लगाइएको रेष्टुरेन्टका मालिकले बताएका छन्।