राप्रपाको महाधिवेशन आजबाट सुरु, महाधिवेशनले १४७ कार्य समिति चयन गर्ने

राप्रपाको महाधिवेशन आजबाट सुरु, महाधिवेशनले १४७ कार्य समिति चयन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन बुधबारबाट सुरु हुँदैछ । तीन राप्रपा एक भएसंँगै यो एकता महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने जानकारी दिए । कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात् अध्यक्षसहित १४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनीत गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार छन् । दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले मङ्गलबार औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।  

राणा अहिलेसम्म कुनै पक्षसंँग नखुले पनि समर्थन पाउने आशा लिङ्देन पक्षले गरेको छ । बुधबार राजधानीमा भएकोे एक कार्यक्रममा डा। लोहनीले पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने भन्दै लिङ्देनको खुलेर समर्थन गरेका हुन् ।  लोहनीले थापा र राणालाई समेत पार्टीमा अभिभावक बनेर लिङ्देनलाई सर्मथन गर्न आग्रह गरे ।  

लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, डा। धवलशमशेर राणा, टङ्क ढकाल, राजेन्द्र गुरुङ, गोविन्दबहादुर शाह, सविन लावती, दीप शाही, हेमजङ्ग गुरुङलगायत नेताका साथ रहेको छ ।अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।