कांग्रेस सुदूरपश्चिमको सभापतिमा पूर्वमन्त्री बलायरको चर्चा

कांग्रेस सुदूरपश्चिमको सभापतिमा पूर्वमन्त्री बलायरको चर्चा

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु भएको छ । प्रदेश सभापतिका लागि सहमती गर्ने प्रयास थालिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका आकांक्षीहरुका बीचमा प्रतिस्पर्धा हुने देखिएपछि नयाँ अनुहारमा सहमतिको प्रयास भईरहेको छ ।

कांग्रेस नेताका अनुसार डोटीबाट महाधिवेशनमा निर्वाचित पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बीरबहादुर बलायरलाई सर्वसम्मत रुपमा प्रदेश सभापति बनाउने प्रयास थालिएको स्रातेले बताएको छ । सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानून मन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेर खटाएको छ ।

उनले सुदूरपश्चिम प्रदेश सभापतिमा बलायरलाई चयन गर्न छलफल थालेका हुन् । कांग्रेस नेता एनपी साउँद, रमेश लेखक, बीरबहादुर बलायर र बद्री पाण्डे पनि धनगढीमा छन् । उनीहरुबीच प्रदेशको नेतृत्व चयनका लागि छलफल भइरहेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निकट ५ जना आकांक्षीहरुलाई छोडेर बलायरलाई प्रदेश सभापति बनाउने प्रयास थालिएको जनाएको छ । यद्दपि अहिलेसम्म बलायरले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उनको भित्री ईच्छा प्रदेश सभापति हुने देखिएपनि चुनावी प्रतिस्पर्धामा भने जान उनी ईच्छुक देखिदैनन् ।

बलायर प्रदेश सभापति भए नर नारायण शाह मनुको महामन्त्री बन्ने सम्भावना बलियो छ । नेपाली कांग्रेसका नेता नर नारायण शाह मनु, अर्जुन जंग बहादुर सिंह, पुष्पकुमार शाही, गोविन्द शाह, हिम बहादुर रावल प्रदेश सभापतिका रुपमा आकांक्षी देखिएका छन् ।