बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसालीतर्फ गईरहेको से १ ज २२६ नम्बरको जीप बिहीबार दिउँसो ४ बजेतिर दोगडाकेदारको तारल भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका १४ वर्षीय भीम धामी, सोही ठाउँका २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरीकार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । जीप सडकबाट करीब ५० मिटर तल खसेको छ । जिपमा १० जना सवार रहेका बताइएको छ । जीप चालक भने फरार रहेका छन् ।