ए डिभिजन लिग : तेस्रो चरणको पहिलो दिन फ्रेन्ड्स र थ्री स्टार तथा सातदोबाटो र एपीएफ भिड्ने

ए डिभिजन लिग :  तेस्रो चरणको पहिलो दिन फ्रेन्ड्स र थ्री स्टार तथा सातदोबाटो र एपीएफ भिड्ने

सहिद स्मारक लिग ए डिभिजन २०७८ को तेस्रो चरणका खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । त्यसको पहिलो दिन फ्रेन्ड्स र थ्री स्टार तथा सातदोबाटो र एपीएफ भिड्ने छन् ।

दिउँसो १ बजे हुने खेल ललितपुर डर्बी रहेको छ । त्यसमा थ्री स्टार फेरि लयमा फर्कने प्रयासमा हुनेछ । च्यासलविरुद्धको पहिलो खेल जितेर उत्साहित तीन पल्टको लिग च्याम्पियन थ्री स्टार आफ्नो दोस्रो खेलमा भने सातदोबाटोसँग पराजित रहेको थियो ।

यस्तोमा थ्री स्टारको तीन अंक छ । फ्रेन्ड्स भने एकै अंकमा सीमित छ । सातदोबाटोविरुद्धको आफ्नो पहिलो खेल गोलरहित बराबरी खेलेको फ्रेन्ड्स संकटाविरुद्धको दोस्रो खेलमा भने पराजित रहेको थियो ।

सातदोबाटो र एपीएफबीचको खेल भने साँझ ४.४५ मा सुरु हुनेछ । थ्री स्टारलाई पछिल्लो खेलमा हराएयता सातदोबाटो उत्साहित छ । उसको चार अंक छ ।एपीएफ भने रेलिगेसन क्षेत्रमा रहेको छ र अंकविहीन छ । एपीएफ सुरुआती दुवै खेलमा पराजित रहेको थियो । उसले बीबीसी र च्यासलविरुद्धको खेल गुमाएको थियो ।