सीमा नाकामै कोरोना खोप , दुवै डोज लगाइएकालाई मात्रै प्रवेश दिइने

सीमा नाकामै कोरोना खोप ,  दुवै डोज लगाइएकालाई मात्रै प्रवेश दिइने

दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले नेपाल–भारत सीमा क्षेत्रमै खोप लगाउन सुरु गरेको छ । बुधवारदेखि नेपाल–भारत जोड्ने खलंगा पुलघाटमा नियमित कोरोनाविरुद्दको खोप लगाउन थालिएको हो । जिल्लामा मौज्दात खोपलाई सीमानाकामै नियमित खोप सेवा संचालन गरेर लगाइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए । 

उनले भने, “खोप लगाउन बाँकी लक्षित समूह र पहिलो तथा दोस्रो डोज सीमामै दिइरहेका छौ ।“ खोप केन्द्रमार्फत कोरोनाविरुद्धको एष्ट्राजेनिका र भेरोसेलको खोप लगाइदै छ ।  खोप विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । सीमामा संचालित खोप केन्द्रका बल बहादुर लोहारका अनुसार नियमित खोप सेवाअन्तर्गत ५२ जनालाई खोप लगाइएको छ ।

दुवै डोज लगाइएकालाई मात्रै प्रवेश दिइने
अफ्रिकी मुलुकमा पहिचान गरिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फैलनसक्ने भन्दै भारतसंग सीमा जोडिएका नाकाहरुमा कडाइ गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट नेपालमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गरी कोरोनाविरुद्धको दुवै खोप लगाइएकालाई मात्रै नेपाल प्रवेश दिने जनाएको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सबै सचेत बनि जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सूचनामार्फत आग्रह गरिएको छ ।