विद्यालयमा चोरी गर्ने कञ्चनपुरका ३ जना सामानसहित पक्राउ

विद्यालयमा चोरी गर्ने कञ्चनपुरका ३ जना सामानसहित पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका-१२ बडैपुरमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको कार्यालयको ताला फोडेर सामान चोर्ने ३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१३ पिपरीयाका २० वर्षीय मोहित ठगुन्ना, वर्ष २० का महेन्द्र बिक र सुभम भट्ट छन्।

तीनै जनालाई पिपरीयाबाट चोरीका सामानसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए।

विद्यालयको कार्यालय र कम्प्युटर कक्षा कोठाको ताला फोडेर उनीहरूले ल्यापटप, प्रोजेक्टर, मनिटर, सिपियू, किबोर्ड, सिसी क्यामेरा डिभाइसलगायत सामान चोरेका थिए।

विद्यालयमा बुधबार राति चोरी भएको खबर पाएपछि प्रहरीले चोरीमा संलग्नहरूको खोजी शुरु गरेको थियो।

पक्राउ परेकाहरू माथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये मोहित र महेन्द्रले यसअघि फौजदारी अभियोगमा सजाय पाइसकेका छन्।