आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव, मौसममा क्रमश: सुधार आउने

आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव, मौसममा क्रमश: सुधार आउने

पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमश : सुधार हुँदै जाने भएको छ ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजोर बन्दै गएको हो । यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको थियो ।

शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बाग्मती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।