कांग्रेस प्रदेश निर्वाचन : सुदूरपश्चिममा एक हजार तीन मत खस्यो

कांग्रेस प्रदेश निर्वाचन : सुदूरपश्चिममा एक हजार तीन मत खस्यो

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा एक हजार तीन मत खसेको छ । एक हजार १७ मतदाता रहेको प्रदेशमा एक हजार तीन मत खसेको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए ।

बिहान ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो ४ बजेर २० मिनेटमा मतदान सकिएको हो । मतदान सकिएपछि राति नै गणना गर्ने वा भोलि गर्ने भन्ने विषयमा पछि छलफल गरिनेछ । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् ।