कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बन्यो बाधक

कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बन्यो बाधक

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले हालै नयाँ नेतृत्व पाएको छ । 
पूर्वराजपरिवारको हस्तक्षेपले लिङ्देन अध्यक्ष बनेको र आफू पराजित भएको आरोप निवर्तमान अध्यक्ष कमल थापाले लगाएका छन् ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नगई सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर बसेका थापाले पार्टी फुटाउन र नयाँ पार्टी गठन गर्न लागेको चर्चा चलेको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदभार ग्रहण गर्दा आफू महामन्त्री हुँदा बस्ने गरेको कोठा र कुर्सी प्रयोग गर्नुलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । थापा नयाँ नेतृत्वसँग निकै असन्तुष्ट रहेको र उनले नयाँ पार्टी खोल्न लागेको हल्लापनि चलेको छ ।


तर, थापानिकट एक नेताका अनुसार उनलाई पार्टी फुटाउन गीता छोएर र ताप्लेजुङस्थित पाथीभारा देवीको मन्दिरमा खाएको कसम बाधक बनेको छ ।

थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले नेतृत्वको गरेको राप्रपाबीच एकीकरण घोषणा कार्यक्रममा अध्यक्षत्रयले अब पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका थिए । 
योसँगै निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए । जुन अहिले पार्टी फुटाउन थापालाई बाधक बनेको राप्रपाका नेताहरू बताउँछन् ।