कैलालीमा बडुवाल हत्या प्रकरण : फरार अभियुक्तलाई इन्काउन्टर गर्न माग

कैलालीमा बडुवाल हत्या प्रकरण : फरार अभियुक्तलाई इन्काउन्टर गर्न माग

धनगढी । भूपेन्द्र बडुवालका हत्यारालाई पक्राउ गरी कारबाही गर भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । मङ्गलवार बडुवालका आफन्तहरुले हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । उनीहरूले 'हत्याराहरूलाई कारबाही गर, हत्याराहरूलाई धरौटीमा रिहा गर्न पाइँदैन' भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

सम्पूर्ण हत्यारालाई जन्मकैद हुनु पर्ने उनीहरूले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय देखि जिल्ला अदालत कैलाली सम्म उनीहरूले प्रदर्शन गरेका हुन् । साथै उनीहरूले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न माग गरेका छन् । कात्तिक २३ गते मङ्गलवार राति भूपेन्द्र बडुवालको हत्या भएको थियो ।

हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना विरुद्ध मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै बडुवाल हत्या प्रकरण हालसम्म १२ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

उनका अनुसार अझै हत्यामा संलग्न ९ जना फरार अवस्थामा रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।