माओवादी सुदूरपश्चिम अधिवेशन : कार्यकर्ता भन्छन्, 'टिका लगाएर नभई सक्षम नेतृत्व छानिनु पर्छ'

माओवादी सुदूरपश्चिम अधिवेशन : कार्यकर्ता भन्छन्, 'टिका लगाएर नभई सक्षम नेतृत्व छानिनु पर्छ'

धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत रूपमा चयन गर्न नेताहरू अभ्यस्त रहेको बेला कार्यकर्ता तहले भने कसैको टिका लगाएर नभई सक्षम नेतृत्व छानिने अपेक्षा लिएको छ । 

शनिवार देखी सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोट तथा प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने अभ्यास सुरु भएको हो । 
 
आकांक्षीहरु बढी भए पनि तीमध्येबाट एक जना छान्नका लागि सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् । नेताहरूले बन्द सत्रमै बहस तथा छलफल गरी अध्यक्ष छनोट हुने सङ्केत देखिएको बत्ताइरहँदा कार्यकर्ताहरूले गरेको यो अपेक्षालाई लोकतान्त्रिक अपेक्षा मान्न सकिन्छ । 

महाधिवेशनको दोस्रो दिन बन्द सत्रमा छलफल चलिरहेको बेला अधिवेशनमा सहभागी हुन कञ्चनपुरबाट धनगढी पुग्नु भएकी माओवादी नेत्री शान्ति शाहीले धनगढी खबर सँग प्रतिक्रिया दिँदै पार्टीको नीति र विधि अनुसार सबैको मनोभावना बुझ्ने नेतृत्व चाहेको बताउनुभयो । 'आकाँक्षिहरु धेरै हुनुहुन्छ । पार्टीले तोकेको विधि विधान अनुसार पार्टी पक्तिलाई एक ढिक्का बनाएर लग्न सक्ने नेतृत्व, अध्यक्षको अपेक्षा गरेको छु ।' उहाँले भन्नुभयो । 

यस्तै, सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट अधिवेशनमा भाग लिन पुग्नुभएका कुम्भ राज जोशीले अहिलेको अधिवेशनबाट कम्युनिस्ट बिचार धाराको सम्मान गर्दै जनताको भविष्य कर्तव्य अधिकारको रक्षा गर्ने सक्ने र आफ्नो भन्दा पनि जनताको भविष्य हेर्ने नेतृत्व चाहेको बताउनुभयो । 'प्रदेश कमिटीमा यस्तो व्यक्ति त्यही चैन हुनु पर्‍यो । जसले पार्टी तथा आफ्नो भन्दा पनि जनतालाई प्राथमिकता दिन सक्ने र देशको भविष्य, जनताको भविष्य, जनतालाई चाहिने आवश्यकता र अधिकारको परिपूर्ति गर्न सक्ने एवम् देश भक्त हैसियत कायम राख्न सक्ने व्यक्ती चयन होस भन्ने अपेक्षा लिएको छु ।' उहाँले भन्नुभयो । 

यसै गरी, अनेरास्ववियु क्रान्तिकारी कैलालीका प्रतिनिधि तथा महाधिवेशन स्वास्थ्य स्वयंसेवक सुरेन्द्र साउँदले कसैबाट सिफारिस गरिएको टिका लाएको भन्दा पनि केन्द्रमा सुदूरपश्चिमलाई चिनाउन सक्ने र सुदूरपश्चिमको राजनीति जगतमा माओवादी केन्द्रलाई उच्च पहिचान दिलाउन सक्ने नेता आउनु हुने छ भन्ने अपेक्षा लिएको बताउनुभयो ।

'हामीले यो भन्दा अगाडी देखी छलफल चलाई राखेका थियौँ कि, प्रदेशको नेतृत्व गर्नको निम्ति कुनै पनि पक्ष बाट संरक्षित नभईकन युवालाई लक्षित गरेर विभिन्न किसिमका मुद्धाहरु लाई समेट्ने गरी यो सुदूरपश्चिम प्रदेश भौगोलिक हिसाबले पछाडि परेको हुँदा यसलाई उचाइमा पुर्‍याउनका लागी पार्टीले सबल नेतृत्व पङ्क्ति दिओस् भन्ने हामी चाहन्छौँ । हामीले योग्य दक्ष व्यक्तिहरू आउनु पक्षहरू आउनु पर्छ भन्ने चाहाना छ । हिजोका दिनमा सुदूरपश्चिममा कम्युनिस्टहरू जति आए पनि ती पिछडिँदै गए । र यो क्षेत्र पनि पिछडिँदै गो त्यो हिसाबले यो क्षेत्रलाई केन्द्रमा विकाश उन्मुख बनाउन सक्ने नेतृत्व र आँट गर्ने सक्ने क्षमता भएको सक्षम व्यक्ती हामीले खोजेका छौँ । त्यो हुनाले कसैबाट सिफारिस भएको, आमन्त्रित भएको र कसैबाट टिका लगाएर बनाइदिनुपर्छ भन्ने लाग्दैन । आकाँक्षि बढी भए लोकतान्त्रिक पद्धति अनुरूप चुनावमा जालान् त्यहाँबाट सभ्य, भव्य, सक्षम र कार्यकर्ता पङ्क्तिले चाहेको नेता चुनिएला भन्ने अपेक्षा छ ।'  उहाँले भन्नुभयो । 

सम्मेलनबाट ९ पदाधिकारी सहित २२३ जनाको प्रदेश कमिटी चयन हुनेछ। अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी सहित २२३ जना प्रदेश कमिटी चयन हुने छन् । भने त्यसबाहेक १० प्रतिशत सदस्य मनोनीत गरिने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएको छ ।