कांग्रेसमा १३ जना पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको नेतृत्व चयन गर्न आज मतदान

कांग्रेसमा १३ जना पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको नेतृत्व चयन गर्न आज मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयन गर्नका लागि मतदान हुँदै छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतदान हुनेछ। मतदानका लागि काठमाडौंको भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा व्यवस्था गरिएको छ। तीन वटा मतदान केन्द्रमा १ हजार १ सय बुथको व्यवस्था गरिएको छ।

कांग्रेसमा १३ जना पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। जसका लागि ४९१ जना उम्मेदवार मैदानमा छन्।

प्रदेश २ बाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। अब १३२ पदका लागि ४८९ उम्मेदवारबीच प्रतिस्पर्धामा छ।

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङको उम्मेदवार छन्। त्यस्तै, दुई जना उपसभापतिका लागि विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह उम्मेदवार छन्।

दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार बनेका छन्। जसमा विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन्।

कांग्रेसमा आठ वटा सहमहामन्त्रीका लागि चुनाव हुन लागेको छ। जसमा महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ गंगा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा, आदिवासी जनजातीतर्फ विकास लामा र भीष्म आङ्देम्बे, खस आर्यतर्फ किशोर राठौर र देवराज चालिसे, मधेशीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, मुस्लिमतर्फ परमुल्लाह मंसुर र शेख वकिल, थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा पीछडिएको क्षेत्रतर्फ चेतराज बजाज, जीवनबहादुर शाही र बद्री पाण्डे उम्मेदवार छन्।