एकीकृत समाजवादीले ७० प्रतिशत स्थानीय तहमा गठन गर्‍यो कमिटी

एकीकृत समाजवादीले ७० प्रतिशत स्थानीय तहमा गठन गर्‍यो कमिटी

नेकपा एकीकृत समाजवादीले देशका ७० प्रतिशत स्थानीय तहमा पार्टी कमिटी गठन गरेको छ। 

अहिलेसम्म देशभरका सात सय ५३ मध्ये पाँच सयभन्दा बढी स्थानीय तहमा कमिटी गठन भइसकेको एकीकृत समाजवादीले जनाएको छ।

पालिकास्तरीय कमिटी गठन भएका जिल्लामा वडा तहसम्मै कमिटी विस्तार गरिएको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए। 

स्थानीय तहमा पार्टीको कमिटी गठनसँगै एकीकृत समाजवादीले बैचारिक राजनीतिक प्रशिक्षणसमेत सञ्चालन गरिरहेको छ। 

‘देशभर संगठन विस्तार र प्रशिक्षण अभियान सञ्चालन गरिरहेका छौँ,’ भुसालले भने, ‘देशका सातवटै प्रदेशमा प्रशिक्षण र स्थानीय तहमा संगठन निर्माणका दुबै काम अभियानकै रूपमा सञ्चालन भइरहेका छन्।’ 

मंसिर तेस्रो साताबाट सुरु भएको प्रशिक्षण अभियान प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सकिएको छ। गण्डकी र लुम्बिनीमा पनि कार्यक्रम तय भइसकेको एकीकृत समाजवादीले जनाएको छ। बिहीबार बागमती प्रदेशमा प्रशिक्षण सम्पन्न भएको छ । गण्डकीमा आज शुक्रबार प्रशिक्षण कार्यक्रम हुँदै छ।

प्रदेशस्तरीय प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव भुसाल, स्कुल विभागका प्रमुख प्रमेश हमाल, उपाध्यक्ष र उपमहासचिवलगायत नेता सहभागी हुँदै आएका छन्। 

पार्टीका सम्मानित नेता झलनाथ खनाल भने स्वास्थ्यका कारण सबै प्रशिक्षणमा भर्चुअल माध्यमबाट सहभागी हुँदै आएका छन्।