अनुभूति प्राप्त नहुने शिक्षाले विकृति मात्र जन्माउँछ

अनुभूति प्राप्त नहुने शिक्षाले विकृति मात्र जन्माउँछ

के तपाईलाई लाग्छ हाल सञ्चालनमा रहेको शिक्षा प्रणालीले तपाईका नानीबाबुहरूको भविष्यको सुनिश्चितता गर्दछ ? के तपाईलाई लाग्छ, तपाईँको नानिबाबुहरुले साँच्चिकै केही सिक्दछन् ? के तपाईलाई लाग्छ, जिन्दगीमा तपाईका नानीबाबुहरू सफल र सबल हुन्छन् ?

के तपाईलाई लाग्छ, अनुभूति, अनुभव तपाईका नानिबाबुहरुले गर्दै छन् ? बाल मस्तिष्कले आफ्नो जिन्दगीको रचना गरिरहेको छ कि छैन? झोला भरी किताबको भारी बोकेको अनुभूति गर्दै छ कि छैन तपाईका नानीबाबुहरुले?.

करिब ५ वर्ष भयो शिक्षण गरिरहेको, मैले शैक्षिक संस्थामा। ५ वर्ष देखी लगातार भोगिरहेको छु वास्तविकता, बुझिरहेको छु बाल मस्तिष्कको पीडा। बालबालिकाहरूको अवस्था, मनोविज्ञान, चेतना आदि बुझ्ने हो भने मैले ठुलो अपराध गरेको अनुभूति हुन्छ। उनीहरूको भविष्यत् खेलबाड गरेको अनुभूति हुन्छ।

करिब बिहान १० बजे स्कुलको समय हुन्छ, विद्यार्थीहरू स्कुल जान्छन् झोलाको भारी बोकेर र फर्किन्छन् शून्य भएर। साना साना नानीबाबुहरू करिब ३/४ कपि र १ किताब लगेर स्कुल पुग्छन्। कक्षा कोठामा शिक्षकले कक्षा कार्य गराउँछन् अनि गृहकार्य दिएर घर पठाउँछन् । यस्तै दैनिकी चलिरहेको हुन्छ तर न उनीहरूले दाँत माझ्न सिकेका हुन्छन्, न उनीहरूले मुख धुन सिकेका हुन्छन्, न व्यवहारिक ज्ञान नै । एक ज्ञान हुन्छ, त्यही नमस्कार मात्र ! 

बालबालिकालाई आफूले गरेको कार्यको न कुनै भान छ, न कुनै अनुभूति, न कुनै अनुभव। केवल बाध्यता छ, नियम छ, नियमितता छ तर कुनै अनुभूति छैन। अनुभूतिहीन, अनुभवविहीन दैनिकी चलिरहेको छ।

विद्यार्थी पढिरहेको हुन्छ, शब्दहरू बोलिरहेको हुन्छ तर शब्दको अनुभूति नै छैन। मनले त्यो शब्द सुन्न चाहेकै छैन। शब्दको माया नै नमानेपछि अर्थको सामञ्जस्य ता  कसरी भेउ लाउन सकिन्छ। विद्यार्थी खेलिरहेको हुन्छ, कक्षा कोठामा पढ्नुपर्छ भन्ने बहानाले मात्र। यसरी न खेल खेलेको अनुभूति छ, न पढाईको अनुभूति ।

विद्यालयमा अनुभूति विहीन जिन्दगी बिताइरहेको विद्यार्थीले घरमा पनि अनुभूतिविहीन हुनु झन् बग्ने चाहना भएको नदिलाई छेक्न खोज्नु सरह हो। छेकेको नदी केही क्षणका लागि छेकिन्छ तर आफ्नो गन्तव्यका लागि अन्तिममा विस्फोट भएर गति प्राप्त गर्दछ। यसरी विस्फोट हुँदा नोक्सान पनि त्यत्तिकै हुन्छ। यसरी अनुभूति विहीन हुनु भनेको विद्यार्थीहरूका भावनाहरूको छेकबार लाउनु, र भविष्यमा विनाशकारी सिद्ध हुनु हो।

यसरी अनुभुतिविहिनको यात्रा गरिरहँदा, भविष्यमा एक्लो हुने, फटाइगिरी गर्ने, शिक्षकको अवमूल्यन गर्ने, शिक्षकसँग द्वन्द्व गर्ने, भाष्यको दुरुपयोग वा अपाच्य शब्दको प्रयोग गर्ने, दुर्व्यसनीमा लाग्ने, बा-आमाको अवमूल्यन गर्ने, प्रति उत्पादक बन्ने जस्ता अवगुणको विकास हुने हुन्छ। मानसिक चेतना शून्य हुने हुन्छ, अन्तस्करणको चेतना गुमाउने सम्भावना प्रबल हुन्छ।

यस्तै गरी विद्यार्थी उत्पादन गर्ने बनेका कारखानाहरूले देश, समाजका प्रति उत्पादक बन्न सक्ने जमातको उत्पादन गरिरहेको छ। विद्यार्थीको भविष्य वर्वाद गर्नमा बा- आमा, विद्यालय, शिक्षक, राष्ट्र समाज लगायत प्रत्यक्ष, अप्रत्यक्षरुपमा संलग्न सम्पूर्ण जिम्मेवार छन्। त्यसैले मैले आफूलाई एक अपराधी ठान्दछु र अपराधको बोधले मलाई बारम्बार सताइरहेको छ। म अपराध मुक्त हुन मैले शिक्षा प्रणाली देखि, स्कुलको नियम, नियमितता बदल्नु आवश्यक छ।

तल्लो कक्षा देखी नै सुधार गर्नुपर्छ, भविष्य सुमधुर बनाउनका लागि। प्रत्येक क्रीयकलाप अनुभूतिरहित हुनुपर्छ, प्रत्येक शब्दको मूल्य बुझाउनुपर्दछ। मेलमिलाप, सौहार्दता, प्रेम, अनुभूति, अनुभव जस्ता भावनाहरूमा बग्न दिनुपर्छ। प्रत्येकको व्यवहार अनुसारको गन्तव्य सृजना गर्नुपर्दछ। भद्रता, नम्रता, शिष्टाचार, जस्ता व्यवहारिक ज्ञानमा जोड दिनुपर्दछ ।

विद्यार्थीले पढिरहेको शब्दको अनुभूति गर्न सक्ने बनाइएमा उसको भविष्य अरूले देखाइरहनु पर्दैन। मस्तिष्क र दिलले आफ्नो काम सही तरिकाले गर्ने सके विद्यार्थीको भविष्य सुनिश्चित हुने कुरामा कुनै शङ्का नै छैन। त्यसैले समाज, राष्ट्रको कल्याण गर्नका लागि शिक्षा प्रणाली सुधार गरेर अघि बढ्नुपर्छ। यदि सभ्य र भव्य समाजको परिकल्पना गरिन्छ भने, प्रत्येक तह, क्षेत्रले यसको सुधारका लागि प्रयत्न जरुरी छ।