दोगडाकेदार गाउँपालिको पहिलो कामः पन्ज्युनयाँ–खौला बाटो मर्मत, स्थानीयबासी हर्षित

दोगडाकेदार गाउँपालिको पहिलो कामः पन्ज्युनयाँ–खौला बाटो मर्मत, स्थानीयबासी हर्षित

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकाले पन्ज्युनयाँ–खौला बाटोलाई पिसिसि बाटोमा रुपमा मर्मत गरेपछि स्थानीयबासीलार्ई हिँडडुल गर्न सहज भएको छ। गाउँपालिकाको २० लाख सहयोगमा बाटो मर्मत भएपछि वर्षातको समयमा ज्यानलाई समेत जोखिममा राखेर यात्रा गर्नु पर्ने बाध्यता हटेको छ। 

दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ मा करीव १३ सय मिटर बाटो मर्मत गरिएको छ। गाउँपालिकाको वडा नं १ र वडा नं ६ जोड्ने मुख्य बाटो हो। लामो समय देखि सो बाटोको मर्मतसम्भार हुन नसकेपछि ज्यान जोखिममा राखेर स्थानीयबासी आवतजावत गर्ने गरेका थिए। 

पन्ज्युनयाँ–खौला बाटो मर्मत भएपछि स्थानीय बासीलाई यात्रा गर्न सहज भएको दोगडाकेदार गाउँपालिका १ का प्रेम राम भुलले बताए। ‘पहिले वर्षा सुरुभएपछि हिँडडुल गर्न असहज हुने गरेको थियो’, उनले भने, ‘बाटोको मर्मत भएपछि अहिले त्यो समस्या हटेको छ।’

अहिले गाउँपालिकाले बाटो मर्मत गर्दा स्थानीय खुसी भएका छन्। ‘लामो समयपछि बाटो मर्मत भएको छ’, स्थानीय तिखुरे भुलले भने, ‘जोखिम पूर्ण यात्रा गर्नु पर्ने बाध्यता हटेको छ। सोही कारण अहिले गाउँमा सरकार आएको जस्तो महसुस भएको छ।’

स्थानीय बासिन्दाको मुख्य आवश्यकताका आधारमा बजेट विनियोजन गरी उक्त बाटो निर्माण गरेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।