प्रदेश २ को नामकरणका लागि सहमति जुटाउनमा जसपा

प्रदेश २ को नामकरणका लागि सहमति जुटाउनमा जसपा

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सभासद्हरूले आजै प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका हुन् ।

जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर रहनुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले बताए । माओवादी केन्द्रका नेता एवं प्रदेश सांसद भरत साहले पनि मधेस प्रदेश तथा प्रदेशको राजधानी जनकपुर रहनु पर्नेमा समर्थन रहेको उनले बताए ।

माओवादी केन्द्र पहिलादेखि मधेस प्रदेशका लागि स्पष्ट रहेको र सोहीअनुसार प्रदेशसभामा प्रस्ताव लग्न सुझाव दिएको नेता सुमनले रातोपाटीलाई बताए । त्यस्तै, जसपाका प्रदेश सांसदहरूले नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद शत्रुधन महतोलाई पनि भेटेका छन् । सांसद महतोले आफूहरू पनि मधेस प्रदेश तथा जनकपुर राजधानी रहनुपर्नेमा सकारात्मक रहेको तर यसको बारेमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको जवाफ दिएको जसपाका सांसदहरू बताउँछन् । 

प्रदेशको राजधानी तथा नामकारणको विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने कुरा सांसद महतोले बताएको उनीहरुले जानकारी दए ।जसपाले अब काँग्रेस र एमालेका सांसदलाई भेट्ने तयारी गरिरहेको छ । काँग्रेस सत्तारुढ दल भए पनि प्रदेशको नामकरणमा फरक धारणा राख्दै आएको छ । काँग्रेसले प्रदेश २ को नाम मिथिला भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने भन्दै आएको छ । 

त्यस्तै, एमालेले जानकी प्रदेश र राजधानी जनकपुर हुनुपर्ने भन्दै आएको छ ।जसपाले पुस ८ गते प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा लग्दैछ । प्रस्तावलाई पास गर्नका लागि १०४ जना प्रदेशसभा सदस्यमा ७० जनाको समर्थन चाहिन्छ । प्रस्तावको पक्षमा अहिलेसम्म जसपासँग ६२ जना मात्र पुगेको छ । मधेस प्रदेश र जनकपुर राजधानीका लागि जसपा, लोसपा र माओवादी केन्द्र स्पष्ट छन् । जसपाको ३८, लोसपाको १६ र माओवादी केन्द्रको ८ जना प्रदेशसभा सदस्य रहेका छन् । उता एमालेको ८, काँग्रेसको १९, नेकपा एकीकृत समाजवादी पार्टीको १३, नेपाल संघीय समाजवादी पार्टीको १ जना प्रदेशसभा सदस्य रहेका छन् । जसपाका एक नेता अनुसार चुनाव हुने स्थिति आयो भने नेकपा एकीकृत समाजवादी पार्टी समर्थन गर्ने सम्भावना धेरै रहेको छ ।