नियतिले ठगेको सुदूर !

धनगढी खबर    

नियतिले ठगेको सुदूर !

चाहे नाम सुन्दर होस वा नहोस् नामले केही फरक पर्दैन जस्तो लाग्थ्यो तर कहीँ कतै सत्य हो जस्तो लाग्छ । नामले फरक पार्छ जस्तो लान्छ । भन्नेहरूले भन्लान् सुदूर पश्चिम धेरै अगाडि छ । धेरै विकास भएको छ विगतका दिनहरू भन्दा । यसको मतलब के अब हामी विगतका दिनहरू भन्दा मात्र विकसित हुने हो कि बदलिँदो विश्व बजार सँगै विकसित हुने हो ?

कहीँ कतै सुनेको थिए सुदूर पश्चिम विश्व बजार भन्दा २० वर्ष पछाडि छ । कसम सुदूर पश्चिम सुदूर पूर्व भन्दा २० वर्ष पछाडि छ । हो यो कुरा सुन्दा साँच्चिकै हामी पछाडि छौँ जस्तो लाग्छ कर्णाली नदी पार गरेर त्यो भन्दा पर लाग्दा नजरिया फरक हुन्छ । गरिने व्यवहार फरक हुन्छ । यो कसले जुरायो भूगोलले, प्रकृतिले वा वा हाम्रो आफ्नै अस्तित्वले भूगोलले झुक्कायो भनौँ भने सुदूर पूर्व भन्दा कम छैन ।

सुदूर पूर्व भन्दा ठुलो नै छ । प्रकृतिले दबायो भनौँ भने धर्तीको स्वर्ग खप्तड, बड मालिका, लगायतका ठाउँहरु यही छन् । हो हामीलाई न भूगोलले ठगेको छ न प्रकृतिले ठगेको छ । ठगेको छत केवल हाम्रो आफ्नै नियतिले ठगेको छ ।

मेरो सुदूर पश्चिमलाई ठगेको छत केवल पुर्खाहरूको पाखण्डी सोचले । १२ वर्षकी मेरी बहिनी महिनावारि हुँदा २१ दिनसम्म चिसो मौसममा एक्लै एकान्त गोठमा राख्ने हत्यारा सोचले एउटा सुन्दर ठाउँलाई ठगेको छ । जहाँ बेलुका एक्लै हिँड्न पाउँदैन दिदीबहिनीहरु । सायद यिनै पापी र नरपिजास सोच भएका लाटोकोसेरा बसेका कारणले पश्चिम मात्र भएर नै सुदूर पश्चिम हुन पुग्यो ।

यिनै नरपिजास सोच भएका लाटोकोसेराहरुका कारणले दिन प्रतिदिन दूर हुन पुग्यो । अहिले सम्मकै सबैभन्दा ठुलो परिवर्तन मानिएको सङ्घीयताको आगमनले समेत यता न उता पार्न नसकेको सुदूर पश्चिम किन एउटा सोचाइको कारणले मात्र जहिले यताउता हुन्छ ।

जसले जेसुकै भनोस् अब साँच्चै सुदूरलाई परिवर्तन गर्ने हो भने हाम्रो पुस्ताले सुन्दरताको लडाइ लड्नु पर्नेछ । अब हामी संस्कार, सभ्यता र धर्मको लडाइ नलडेर सुन्दरताको लडाइ लड्न अग्रसर हुनु पर्नेछ । अब सुदूरको छाउ प्रथालाई विश्व बजारमा होइन खप्तडको सुन्दरतालाई विश्व बजारमा प्रतिस्पर्धा गराउनु पर्छ । सुदूरको धामी झाक्रि प्रथालाई देखाउने होइन बडिमालिकाको मुस्कानलाई विश्व सामु चित्रण गर्नु पर्छ ।

भौतिक सुन्दरताले मात्र पर्यटकहरूलाई आकर्षण गर्छ भन्ने पुरातन सोचलाई सुदूर पश्चिमले डढेलो लगाउनु पर्छ । सुन्दरताको अनुपम उपहार पाएको सुदूर पश्चिमलाई जसरी पटक पटक मानवीय स्वार्थले ठगिँदै आयो अब त्यसरी ठगिन दिनु हुँदैन । हरेक युवाहरू आ–आफ्नो ठाउँबाट उठौँ, जागौँ र सुदूर पश्चिमको सुन्दर अभियानमा ।

प्राज्ञिक र राजनीतिक तहमा सुदूर पश्चिमको सम्वृद्धिको बहस भएको सायदै पाइन्छ । कुरा सुन्दरताको मात्र नभएर यो सिङ्गो देशको कुरा हो । नेपाल बनेन बिग्रियो देशमा केही गर्ने अवसर नै छैन । नेता केवल नेता बन्नका लागि मात्र भए, देश र जनताको समुन्नतको लागि कोही पनि नेता भएनन् । चाहे नेता होस या कर्मचारी हरेक आ–आफ्नो स्वार्थ पूरा गर्नको लागि मात्र अग्रसर हुन्छन् । यी समस्या दिनहुँ बढ्दै छन् ।

बिहान  उठेदेखि राति नसुतिन्जेल सम्म सडक देखि सदन सम्म यिनै बेथितिको चर्चा परिचर्चा हुने गर्छ । बस केवल चर्चा परिचर्चा मात्र । यिनै चर्चा परिचर्चा युवाहरू सुन्दर भूमिलाई सम्वृद्ध बनाउने जिम्मा आई एनजिओ र दातृ निकायलाई सुम्पिँदै विदेश पलायन हुन्छन् । बिरानो देशमा देश बनेन भन्दै ५ फिट उफ्रिँदै गाली गर्दै थियौ उसैको हातमा देशको भविष्य सुम्पिएर आफ्नो भविष्य खोज्न विदेश पलायन हुन्छौ । के साँच्चै स्वदेशमा अवसर र भविष्य नभएकै हो त ?

हुन त देशका उदाहरण सुन्दा नेपालीका कान भरिएका छन् तर पनि यो उदाहरण नदिइरहन सकिदैन् । राजनीतिक चक्रभिउले मात्र देशको सम्वृद्धिको यात्रामा ब्रेक लाग्छ भन्ने हो भने मित्र राष्ट्र थाइल्यण्डको उदाहरण पत्यार लाग्दो छैन । सन् २००१ मा निर्वाचनबाट निर्वाचित थाङ्सिन सिनावात्रा देखि सन् २०१३ मा निर्वाचित यिनलक सिनावात्रा सरकार प्रमुख हुन आइपुग्दा समेत राजनीतिले दिन प्रतिदिन अस्थिरता दिँदै आइरहेको थियो ।

दिन प्रतिदिनको अस्थिरताका कारण राजनीतिक विवाद र आन्दोलन उत्कर्षमा पुगेपछि थाइ सेनाले आफ्नो कब्जामा लियो तत्पश्चात् थाइ सेनाले संविधान बनाएर जनमत सङ्ग्रहबाट अनुमोदन गरायो । यसरी राजनैतिक अस्थिरताका बाबजुद पनि थाइल्यान्डको संवृद्धिमा न कुनै प्रकारको रोकावट आयो नत विश्व भ्रमणमा निस्किएका पर्यटकले थाइल्यान्ड गर्न कुनै प्रकारको असुरक्षित महसुस नै गरे ।

दोस्रो विश्व युद्धले तहसनहस भएको जापान राजनैतिक व्यवस्था नै सम्वृद्धिको वाधक मानिने हो भने जापानी बादशाह पेजीको लगाव र क्रियाकलापले सायदैलाई विश्वास दिलाउला । विश्वयुद्धमा भौतिक देखि लिएर अथाह मानवीय क्षति बेहोर्नु परेको जापानलाई सम्वुद्धिको काचुलि फेर्न राजनैतिक व्यवस्थाले कुनै पनि प्रकारको पूर्ण विराम लागेन ।

दशरथ चन्द, भिमदत्त पन्त, गोविन्द गौतम लगायतका अमर सपुत जन्माएको सुदूर पश्चिमले अब फोहोरी राजनैतिक चक्रभिउमा रुमलिने होइन । सुन्दरता र सम्वृद्धिको चक्रभिउमा फस्ने हो । साँच्चिकै सुदूरको सुन्दरताको पहिरनलाई अङ्गाल्नु पर्नेछ । हामीले शेर बहादुर देउवालाई ८ पटक प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री बनाउने होइन ।

आफ्नो सिमाना मिचिनु हुँदैन भन्दै छातीमा गोली थाप्ने गोविन्द गौतमको सपना साकार पार्ने प्रधानमन्त्री बनाउनु पर्छ । आफ्नो छरछिमेक नातेदारलाई स्वकीय सचिव बनाउने प्रधानमन्त्री, मन्त्री बनाउने होइन । खप्तडकी रानीको सुन्दरता, बडिमालिकाको मुस्कान, अपि, सैपालको हाँसो बेचेर सुदूरको पहिचान फेर्ने प्रधानमन्त्री बनाउनु पर्नेछ ।

जो हामी र म जस्तै म भएका युवाहरू एकजुट हुनुपर्नेछ । जबसम्म म जस्तै म भएका युवाहरुको हातेमालो हुँदैन तबसम्म यी कुरामा बाधक आइरहन्छ । अब सुदूरले हातहतियारको लडाइ होइन सुन्दरताको लडाइ लड्नु पर्नेछ । जुन लडाइ हामी स्वयमले नै जित्नुपर्नेछ ।

आउनुहोस् हामी सबै मिली एउटा प्रण गरौँ “सुन्दर पश्चिमको सुन्दर अभिभाराको लागि मेरो पनि साथ र सहयोग छ ।”

 



बुधबार ०७, पुष २०७८ १२:५१ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस