युरोपमा कडाइ :ओमिक्रोन

युरोपमा कडाइ :ओमिक्रोन

ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि युरोपेली मुलुकले प्रतिबन्धात्मक नियम घोषणा गरेका छन् ।जर्मनी र पोर्चुगलले क्रिसमस डिसेम्बर २५ लगत्तै लागू हुने गरी प्रतिबन्ध तथा सामाजिक दूरी कायम गर्नुपर्ने नियमहरूको घोषणा गरेका छन् ।

नेदरल्यान्डमा सोमबारदेखि नै देशव्यापी लकडाउन गरिएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको समयमा गरिने हुने जमघटका कारण संक्रमण थप फैलन सक्ने भन्दै लकडाउन गरिएको अधिकारीहरूले जनाएका छन् । नेदरल्यान्ड्सले जारी गरेका नियमहरू युरोपकै छन् ।नयाँ नियमअनुसार नेदरल्यान्डमा अत्यावश्यकबाहेकका पसल, मदिरालय, जिमखाना, सैलुनलगायतका सार्वजनिक स्थान जनवरी मध्यसम्मका लागि बन्द हुनेछन् । स्पेनमा संक्रमितको संख्या कोभिड सुरु भएयताकै उच्च भएको बीबीसीले उल्लेख गरेको छ ।
फ्रान्सका स्वास्थ्य अधिकारीले केही दिनमै कोभिड संक्रमितको संख्या एक लाख नाघ्ने चेतावनी दिएका छन् । हाल फ्रान्समा दैनिक ७० हजारभन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्री ओलिभियर भेरानले फ्रान्समा जनवरीसम्म सबैभन्दा बढी ओमिक्रोन संक्रमित हुने जनाएका छन् । 

जर्मनीले २८ डिसेम्बरदेखि १० जनाभन्दा बढी भेला हुन नपाउने नियम घोषणा गरेको छ । त्यस्तै, रात्रिकालीन क्लब बन्द गरिनुका साथै फुटबल खेल बन्द स्टेडियमभित्र खेलाइने जनाइएको छ । 

त्यस्तै, पोर्चुगलले डिसेम्बर २६ देखि नै रात्रिकालीन क्लब बन्द हुने र जनवरी ९ सम्म घरबाटै काम गर्न आग्रह गरिएको छ । सार्वजनिक स्थानमा बढीमा १० जनासम्म मात्र भेला हुन दिइने जनाइएको छ । 

फिनल्यान्डले भने डिसेम्बर २४ देखि नै कतिपय क्षेत्रमा प्रतिबन्ध लगाएको छ । बार तथा रेस्टुराँ तीन साताका लागि बन्द हुने र फिनल्यान्ड पस्ने यात्रुले अनिवार्य कोभिडको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने जनाइएको छ । बेलायतमा क्रिसमसका लागि सामाजिक दूरी पालना गर्नुपर्नेलगायतका नियम लागू गरिएको छ ।