विपद् तथा जोखिम आउनुभन्दा अगाडी पूर्व तयारीमा जोड दिनुपर्ने निष्कर्ष

विपद् तथा जोखिम आउनुभन्दा अगाडी पूर्व तयारीमा जोड दिनुपर्ने निष्कर्ष

धनगढी । धनगढीमा महामारी र विपद्मा राष्ट्रिय मानव अधिकार संस्थाहरू तथा नागरिक समाजको भूमिका र चुनौंति विषयक अन्तरक्रिया गरिएको छ । बिपद तथा जोखिम आउनुभन्दा अगाडी पूर्व तयारीमा जोड दिनुपर्ने सहभागीहरूको निष्कर्ष निकालेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको सहकार्यमा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो  ।

अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाल रेडक्रस कैलाली का महामन्त्री लोकराज जोशीले विपद्को समयमा सम्बन्धित पक्षले तयारी बिनाको जिम्मेवारी बहन गर्न खोज्ने गरेको बताउनुभएको छ । नेपालको सन्दर्भमा ९६ प्रतिशत कामहरू पूर्व तयारी बिनाको जिम्मेवारी बहन गर्ने गरिएको देखिएको जोशीले बताउनुभयो । 

त्यस्तै, मानव अधिकारकर्मी चित्रा पनेरुले पूर्व सूचनाको पालना नगर्नाले पनि समस्या हुने गरेको बताउनु भएको छ । पनेरुले कैलालीमा बेमौसमी बाढीले गरेको क्षेती बारे सम्झिँदै पूर्व तथारी र विपद् सम्बन्धी जारी गरिएका सूचनाको पालना गर्दै सक्दो तयारी गर्ने र हरेक व्यक्ती तथा राज्यका संयन्त्रका अङ्गमा नैतिकता हुनुपर्नेमा जोड दिनुभयो । 

यस्तै, याक नेपाल धनगढीका प्रतिनिधि धन ब. रावलले मौसम परिवर्तन भएर भन्दा पनि बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप आउनुको मुख्य कारण डोजर आतङ्क रहेको बताउँदै यिनको नियन्त्रणमा तथा सदुपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष सिद्धराज ओझाले नागरिक बाध्य भएर चुनौती पूर्ण स्थानमा बास बस्ने गरेका छन् भने तिनको अवस्थाको अध्ययन गर्दै राज्यले तिनको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसै गरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूरपश्चिम प्रदेशका संयोजक खडक राज जोशीले मानव अधिकार सम्बन्धी अधुरो बुझाईका कारणले झन् समस्या भएको बताउँदै मानव अधिकारको संरक्षण हुन नसकेको बताउनुभयो । 

यसै गरी, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मोहनदेव जोशीले मानव अधिकार को संरक्षण के कसरी गर्न सकिन्छ भनी अन्तरक्रिया गरिएको बताउनु हुँदै अन्तरक्रियाका क्रममा बिपद तथा जोखिम आउनुभन्दा अगाडी पूर्व तयारीमा जोड दिनुपर्ने निष्कर्ष निष्केको जानकारी दिनुभयो ।