विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिलाउन प्रशासनलाई ज्ञापन

विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिलाउन प्रशासनलाई ज्ञापन

दार्चुला। विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिइएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दार्चुलाले जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । 

आइतबार दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीलाई अनेरास्ववियू क्रान्तिकारीले ज्ञापन दिँदै ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियू क्रान्तिकारी दार्चुलाका अध्यक्ष भुवन जोशीले सार्वजनिक यातायातमा यात्रा गर्दा विद्यार्थी परिचयपत्रको आधारमा पाउनुपर्ने ४५ प्रतिशत सहुलियत विभिन्न बाहानमा रोकिएकाले यसको कार्यान्वयनका लागि ज्ञापन बुझाइएको बताए । 

ज्ञापन पत्रमा भनिएको छ– ‘सरकारद्वारा वि.सं. २०६५ सालमै निर्णय गरी आएको विद्यार्थी परिचयपत्रको आधारमा भाडा दरमा ४५ प्रतिशत छुट, सार्वजनिक यातायात व्यवसायीहरूले अहिले बन्द गरेका छन् । 

यो विषयमा जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सरकारको निर्णय कार्यान्वयनका लागि जोडदार माग गर्दछौ ।’ क्रान्तिकारीले एक हप्ताभित्र यो समस्याको समाधान नगरिए चरणबद्ध रूपमा संघर्षमा उत्रने र संघर्षबाट हुने क्षतिको जिम्मा सम्बन्धित निकाय स्वयं हुनुपर्ने चेतावनीसमेत दिएको छ ।