शङ्कर भण्डारी : देशैभर काँग्रेस प्रवेश गर्नेको लर्को छ !

शङ्कर भण्डारी : देशैभर काँग्रेस प्रवेश गर्नेको लर्को छ !

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताएका छन् । नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति–५ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले काँग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे ।

“देशैभर काँग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ”, भण्डारीले भने, “जनताको भरोसा टुट्न दिँदैनौँ ।” पूर्वमन्त्री भण्डारीले काँग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए। 

भण्डारीले निकट विषयमा हुने तीनवटै तहको निर्वाचन काँग्रेसले जित्ने दाबी गरे । उनले भने, “निर्वाचन जित्न अहिलेदेखि नै सङ्गठन सुदृढ बनाउनेतर्फ लागौँ, सबै एकजुट भएर लागेको खण्डमा काँग्रेस हार्दैन ।” 

मुलुक र मुलुकवासीको भविष्य नेपाली काँग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । मुलुकमा भएका सबै विकास र परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको उनको भनाइ थियो । भण्डारीले कम्युनिष्टबाट देश सञ्चालन हुन नसक्ने भन्दै कम्युनिष्टले जनमतको कदर नगरेको आरोप लगाए । 

कार्यक्रममा नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, सहसचिव परमेश्वर भट्टराई, पूर्वसचिव समुन्द्र गोदार, बन्दिपुर गाउँ सभापति कर्ण खत्रीलगायतले पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।