हाकिमलाई ‘भैँसी घुस’ !

हाकिमलाई ‘भैँसी घुस’ !

हाम्रा सरकारी कार्यालयहरूमा प्रायः सरकारी कर्मचारीहरूलाई घुस को रूपमा नगद दिनु पर्दछ । घुस्याहा कर्मचारीहरूले हैरान पारेपछि कतिपय सेवाग्राहीहरूले अख्तियारलाई समेत गुहार्दछन् । तर, भारतमा भने एकजना घुस्याहा कर्मचारीलाई सेवक सिकाउनका लागि एक व्यक्तिले अनौठो उपाय अपनाएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

घुस माग्ने सरकारी अधिकारीलाई घुस स्वरूप ती किसानले एउटा भैँसी दिए । भैँसी दिएनन् मात्र, त्यो भैँसीलाई ती सरकारी कर्मचारी चढ्ने गाडीमै लगेर बाँधिदिए । मध्य प्रदेशको टिकमगढस्थित खडगपुरका तहसीलदार सुनिल बर्माले एकजना किसानको जग्गाको दाखेल खारेज गर्नका लागि १ लाख भारु घुस मागेका थिए ।

५० वर्षका लक्ष्मी बर्मा नामका ती किसानले तहसिलदारले मागेको १ लाख भारु घुस नगदमै दिन सकेनन् । उनले ५० हजार त नगदै दिएका थिए । तर, बाँकी रकम नभएपछि उनले आफ्नो घरको भैँसी लगेर उनको गाडीमा बाँधिदिए ।

किसानले घुस स्वरूप तहसिलदारको गाडीमा ल्याएर भैँसी बाँधिदिएपछि त्यसले तहल्का नै मच्चायो । धेरै मानिसहरू त्यहाँ जम्मा भए । अन्ततः तालुक निकायका अधिकारीले ती किसानलाई तहसिलदारविरुद्ध उजुरी दर्ता गर्न भनेबमोजिम उनले उजुरी दर्ता गरेसँगै हाल उक्त भैँसी घुस काण्डको छानबिन भइरहेको बताइएको छ ।