नेकपा माओवादी केन्द्रले विधानमै पदाधिकारीलाई समावेशी बनाउने भएको छ।
केन्द्रीय समितिमा समावेशी, समानुपातिक व्यवस्था अनिवार्य गरेको माओवादी केन्द्रले अध्यक्षसहितको १५ पदाधिकारीमा पनि त्यो व्यवस्था गर्न लागेको हो।
त्यसका लागि जारी आठौं महाधिवेशनबाट माओवादीले पार्टी विधान परिमार्जन गर्न लागेको छ।
माओवादी केन्द्रको अन्तरिम विधान २०७८ अनुसार एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उप–महासचिव, ३ सचिव र १ कोषाध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ।
त्यही १५ पदाधिकारीमा क्लष्टरवाइज नेतृत्वको व्यवस्था गर्न मंगलबार बसेको स्थायी समिति बैठकले निर्देशन दिएको हो।
स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार अब विधानमै समावेशी पदाधिकारीको अनिवार्य व्यवस्था गरिनेछ।
‘मंगलबार बसेको स्थायी समिति बैठकले हाम्रो पार्टीको विधानमा १५ पदाधिकारीलाई पनि क्लष्टरवाइज मिलाउन अनिवार्य व्यवस्था मिलाइने निर्णय गरेको छ,’ गजुरेलले नेपालखबरसँग भने, ‘विधानमा रहेको पदाधिकारीसम्बन्धी व्यवस्थामा सबै क्लस्टरलाई समावेश गरिनेछ।’
विधानमा क्लस्टरसहितको व्यवस्था राख्नको लागि पाँच सदस्यीय समिति बनाइएको छ।
यसअघि देव गुरुङको नेतृत्वमा विष्णुपुकार श्रेष्ठ र शक्ति बस्नेत रहेको विधान संशोधन समितिमा जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई थप गरिएको हो।
‘पार्टीलाई विधानमै समावेशी बनाउन जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई थप गरिएको छ,’ गजुरेलले भने।