अधिकारीको निधनले पार्टी र देशलाई ठूलो क्षति : भीम रावल

अधिकारीको निधनले पार्टी र देशलाई ठूलो क्षति : भीम रावल

नेकपाका नेता भीम रावलले नेता भरतमोहन अधिकारीको निधनले पार्टी र देशलाई निकै ठूलो क्षति भएको बताएका छन् । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालय धुम्बाराहीमा पुगेका रावलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेपाललाई समृद्धिको दिशामा लैजान चिन्तनशील अधिकारीको निधनले अपुरणीय क्षती पुगेको बताएका हुन् ।


अधिकारी दुई पटक अर्थमन्त्री रहँदा दुवैपटक मन्त्रिपरिषद सदस्यसमेत रहेका नेता रावलले भने, ‘काम र कर्तव्यप्रति अत्यन्त सक्रिय रहने अधिकारीको निधनले पार्टी र देशले निकै ठूलो क्षति व्यहोरेको अनुभूति भइरहेको छ ।’

कानुन र अर्थतन्त्रको समेत जानकार अधिकारीले देशलाई समृद्धिको दिशामा कसरी लैजाने भनेर अर्थविद, समाजशास्त्री र आफूहरुसँग पनि छलफल गर्ने गरेको रावलले स्मरण गरे ।

‘उहाँ अत्यन्त चिन्तनशील हुनुहुन्थ्यो,’ रावलले भने, ‘नेपालको कम्युनिष्टको आन्दोलनको अथक योद्धा, आफूलाई सम्पूर्ण रुपमा समर्पित गर्ने व्यक्तित्व, कुशल अर्थमन्त्रीको रुपमा अधिकारीलाई स्मरण गर्छु ।’