सुदूरपश्चिममा वर्षासँगै भारी हिमपात

सुदूरपश्चिममा वर्षासँगै भारी हिमपात

आईतबार रातिदेखि वर्षासँगै हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । हिमपात र वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज प्रभावित बनेको स्थानीयले बताएका छन् ।

सुदुरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको छ । गत वर्ष मंसिरतिर हिमपात भएको भएपनि यस वर्ष ढिला गरि हिमपात भएको छ । बझाङको बुङगल नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साईपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण पहाडी जिल्लाबाट प्रदेश राजधानीसँगै अन्य ठाउँसँगको यातायात सम्बन्ध टुटेको छ । डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थली लगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण पहाडी जिल्ला भित्रने बाहिरिने सावरी साधनहरु बाटोमै रोकिएका छन् ।

हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य उर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ । शनिबारदेखि नै बेला बेलामा नेटर्वकले काम नगरेको बझाङका शिक्षक पदम राज अवस्थीले बताएका छन् । 
 
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र महेन्द्रनगरबाट पहाडी जिल्लाका लागि छुटेका रात्रीकालीन बसहरु बाटोमै रोकिएका छन् । बैतडीको खोडपे, डडेल्धुराको अनारखोली र अन्य ठाँउमा भएको हिमपातले बझाङ बैतडी र दार्चुलाको यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।