डडेल्धुरा : डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाले आयोजना गरेको धनगढी आँखा अस्पताल तथा च्यारीटी फाउन्डेसन अफ नेपालको प्राविधिक सहयोगमा निशुल्क आँखा र पाठेघर स्क्रिनिङ शिविर सम्पन्न भएको छ। शिविरबाट १३ सय ४२ जनाले निशुल्क उपाचार पाएका छन्। उक्त शिविरमा पाठेघर स्क्रिनिङको उपचारका लागि एक सय ९४ जनाले उपचार गरे।
आँखा शिविरमा ११ सय ४८ जनाले उपचार गराएका थिए। एक सय २० जना मोतिविन्दु भएका बिरामीको अप्रेशन गरिएको गन्यापधुरा गाउँपालिकाले जनाएको छ। आँखाको अप्रेशनपश्चात चस्मा पनि निशुल्क वितरण गरिएको गन्यापधुरा गाउँपालिकाका आर्थिक सल्लाहकार तिल हमालले जानकारी दिए। उनका अनुसार गाउँलिकाले बिरामीको खाने र बस्ने व्यवस्था समेत निशुल्क रुपमा उपलब्ध गराएको थियो ।
पाठेघरको उपचार गराउने एक सय ९४ जना मध्ये ३५ जनाको अप्रेशन गर्नुपर्ने भएकाले उपचारका लागि अन्यत्र लैजानु पर्ने र त्यसका लागि गाउँपालिकाको बैठकबाट टुङ्गो लगाइने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले जानकारी दिए ।
आँगनमै उपचार गर्न पाएकोमा आफू निकै खुशी भएको गन्यापधुरा गाउँपालिका-४ का ७२ वर्षीय नरजीत भुलले बताए। 'आँखा नदेखेको लामो समय भइसकेको थियो, बुढेसकालमा आँखा राम्रोसँग देखुला भन्ने सोचेकै थिएन, चस्मा पनि सित्तैमा पाएँ, खान बस्न र आवत जावत समेतको व्यवस्था मिलाएकाले केही अप्ठ्यारो नभएको भुलले बताए।