राजा र राजसंस्थाले पटक–पटक देशभक्ति प्रमाणित गरेका छन् : राप्रपा अध्यक्ष लिङ्देन

राजा र राजसंस्थाले पटक–पटक देशभक्ति प्रमाणित गरेका छन् : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको सामु झुक्नुभन्दा नेपाली जनताको चाहनाअनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् । 

राजा वीरेन्द्रको ७७औँ जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृसंगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व श्री ५ वीरेन्द्र एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन् ।  

सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसंग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटक–पटक देशभक्ति प्रमाणित गरेको बताएका छन् ।

पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले राजा वीरेन्द्र राष्ट्र हित र जनताको अपेक्षालाई सर्वोपरि ठान्ने राजा भएको, तर राजा भन्नासाथ सामन्त हुने गलत भाष्यको विकास गरेर राजसंस्थालाई बदनाम गरिएको बताएका छन् । 

ज्ञवालीले राजाहरूबाट जलस्रोतको क्षेत्रमा राष्ट्रघात नभएको, तर जनताबाट निर्वाचित दल र नेताहरूबाट जलस्रोतमा गम्भीर त्रुटि भएको र त्यसले देशलाई दीर्घकालसम्म असर पार्ने उल्लेख गरेका छन् । 

नेपाल भारत सम्बन्धको विषयमा चर्चा गर्दै ज्ञवालीले नेपालले विकासको नजरबाट हेर्ने, तर भारतले सुरक्षाको नजरबाट नेपाललाइ हेर्ने गरेको हुँदा यदाकदा समस्या पैदा हुने गरेको बताएका छन् ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलले राजा वीरेन्द्र जनचाहनाअनुरुप चल्ने प्रजातान्त्रिक राजा भएको बताएका छन् । उनले विकास क्षेत्रको अवधारणाले क्षेत्रीय विकासमा योगदान दिने राजा वीरेन्द्रको प्रयास उल्लेखनीय रहेको बताएका छन् । 

कुनै पनि ठाउँमा नातावाद, कृपावाद र दलीय स्वार्थका आधारमा पात्र छनोट गर्ने र प्राथमिकता दिने अहिले खराब प्रचलन बढिरहेको अवस्थामा त्यसबेला पढेलेखेका योग्य व्यक्तिको पहिचान गरी जिम्मेवारी प्रदान गर्ने राजा वीरेन्द्रको अभाव खट्किरहने पनि ढुंगेलले बताएका छन् ।

नेपाल प्राज्ञिक परिषद्का अध्यक्ष जयन्तनाथ खनालले इतिहासका राम्रा पक्ष र राम्रा पात्रको योगदानको चर्चा गर्ने परम्पराको अन्त्य भएको गुनासो गर्दै राजा वीरेन्द्रको योगदानबारे विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गर्न माग गरेका छन् ।