माओवादी नेताहरुको सम्पत्ति छानबिनको माग

माओवादी नेताहरुको सम्पत्ति छानबिनको माग

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा  नेताहरुको सम्पत्ति छानबिनको माग भएको छ ।  मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर रिपोर्टिङ गर्ने क्रममा केही टोली नेताले त्यस्तो माग गरेका हुन् ।

प्रदेश २ बाट सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष सुनाएका थिए । 

गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भिर हुन जाँच गर्न सुझाव दिइन् । उनको समूहमा एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्थादेखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव आएको थियो। 

त्यस्तै कर्णाली प्रदेशबाट विमला केसीले पनि नेताहरुको सम्पत्ति सार्वजनिक गरिनुपर्ने माग गरिन् ।