सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व को रौनक

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व को रौनक

सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । प्रदेशका ९ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।  

पुस १५ गते परिवार, समाज, समुदायका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।

आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली रमाइलो गर्ने चलन छ । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतैकतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिइने गरिन्छ । सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतिकका रूपमा लिने चलन छ ।

घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लिएर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ । रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत(सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा हेर्न सकिने भएकाले आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको बुढापाकाहरूको भनाइ छ। 

पहाडबाट तराइ झरेपछि भने बिस्तारै यो पर्व छोड्दै गएको पाईन्छ । ।आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका सहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ। 

पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।