खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण आन्तरिक उडान प्रभावित बनेका छन्। बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन्। 

बुधबार १ सय ३३ वटा उडान तालिका तय भएकोमा ६८ वटा उडानमात्र भएको र बाँकी रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ। बुधबार पोखरामा कुनै पनि उडान हुन नसकेको बताइएको छ।

मौसममा आएको बदलीका कारण देशभरको उडान प्रभावित भएको विमानस्थल टर्मिनलले बताएको छ। उडान प्रभावित हुँदा यात्रुको चाप विमानस्थलमा बढेको र धेरैजसो उडान बिहीबारको लागि सारिएको आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताए।
बुधबार पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, लुक्ला, भैरहवालगायतका देशका सबैजसो विमानस्थलको उडान तालिका प्रभावित भएको बताइएको छ। उडान तालिका प्रभावित हुँदा बुधबार राति ९ बजेसम्म आन्तरिक उडान तथा अवतरण भएको थियो। अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ।