कोरोना संक्रमण दर बढ्दो क्रममा

कोरोना संक्रमण दर बढ्दो क्रममा

नेपालमा कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ पुगेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालु एकभन्दा मुनि रहँदा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ ।

शनिबार ५ हजार ७ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३ सय ४२ जना अर्थात् ६.८३ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ

मन्त्रालयले शनिबार सार्वजनिक गरेको ताजा तथ्यांकले कोरोना संक्रमण तीव्र बनेको संकेत गर्छ । मन्त्रालयका अनुसार शनिबार ५ हजार ७ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३ सय ४२ जना अर्थात् ६.८३ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको छ । शनिबार देखिएका कुल संक्रमितमध्ये ५८.७७ प्रतिशत ३१ देखि ४० वर्ष उमेर समूहका छन् भने ७१.३४ प्रतिशत ९२ सय ४४ जना० संक्रमित काठमाडौं जिल्लाका छन् । जबकि शुक्रबार ७ हजार ८ सय ८५ को पीसीआर परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण देखिएको थियो ।

‘आर–भ्यालु सुदूरपश्चिममा अलि उच्च छ भने प्रदेश १ मा समेत उच्चस्तरमा छ,‘आर–भ्यालु एकभन्दा बढी हुनु संक्रमण उकालो लाग्ने छाँट वा सन्निकट तेस्रो लहरको पूर्वसंकेत हो ।’

आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ । ओमिक्रोनले अमेरिका, युरोपमा मात्र नभएर छिमेकी भारतमै समेत त्रास मच्चाउन थालिसकेको छ । भारतमा पछिल्लो दिन २२ हजार ७ सय ७५ नयाँ संक्रमित पहिचान भएका छन् । त्यसमध्ये १ हजार ४ सय ३१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

कोभिड–१९ को यो नयाँ भेरिएन्ट यसअघिको डेल्टा भेरिएन्टभन्दा बढी संक्रामक पाइएको छ । नेपालमा हालसम्म दुई जनामा मात्र ओमिक्रोन पुष्टि भएको छ । यद्यपि खुला सिमानाका कारण भारतमा ओमिक्रोनको बढ्दो संक्रमणलाई हेर्दा नेपालमा पनि जोखिम स्वतः बढेको छ । 

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले नेपालमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः भइसकेको बताए । ‘हालसम्मको सूचना, तथ्यांक आदिले नेपालमा ओमिक्रोनले कोभिडको तेस्रो लहर ल्याउने नै देखिएको छ तर यो लहरमा देखिने स्वास्थ्य जटिलता र मृत्युदर कस्तो हुन्छ तत्काल भन्न सकिँदैन,’ उनले भने । भारतलगायत मुलुकमा ओमिक्रोनले समेत मृत्यु भएकाले महामारी तीव्र बन्दा आत्तिएर अस्पताल भर्ना हुनेको संख्या बढ्न सक्ने उनको भनाइ छ ।