लिटल फ्लावर प्रिमियर लिगको क्याफे पार्टनरमा स्टार क्याफे

लिटल फ्लावर प्रिमियर लिगको क्याफे पार्टनरमा स्टार क्याफे

धनगढी । धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को क्याफे पार्टनर स्टार क्याफे रहने भएको छ  । प्रतियोगितामा क्याफे पार्टनरका  रूपमा रहने गरी स्टार क्याफेका प्रबन्ध निर्देशक तथा सन्चालक सुवाश सिंह सङ्ग सम्झौता पत्रमा आइतबार  हस्ताक्षर भएको छ । 

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय  टिमको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।

त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए ।

त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।