नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै समले हुर्काएको त्यो पुस्ता अन्त्य

नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै समले हुर्काएको त्यो पुस्ता अन्त्य

 नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै बालकृष्ण समले हुर्काएको त्यो पुस्ता अन्त्य भएको छ।

८५ वर्षीय मल्लको निमोनियाका कारण २ पुसमा सिभिल अस्पताल काठमाडौंमा निधन भयो। उनी परम्परागत नाटकलाई आधुनिक लेप दिने व्यक्तिका रूपमा स्थापित छन्।

प्राध्यापक तथा नाटककार अभि सुवेदी प्रजातान्त्रिक क्रान्तिपछिको खुला वातावरण र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनापछि नाटकको संस्थागत विकास भएको  बताउँछन्।  “टोल र डबलीमा देखाइने नाटकको ऐतिहासिक परम्परा भए पनि समले हाल हामीले नाटक भनेर चिनेको पश्चिमा शैली भित्र्याएका हुन्,” सुवेदी भन्छन्, “उनले नाटक लेखन, मञ्चन मात्र गरेनन्, नाटकको एउटा पुस्ता नै तयार पारे जसका एक सदस्य मल्ल हुन्।”

बाराको कलैया, बरेवामा जन्मिएका र बाल्यकाल वीरगन्जमा बिताएका मल्ललाई सानैदेखि लेखपढभन्दा नाचगानमा रुचि थियो। स्थानीय त्रिजुद्ध स्कुलको विद्यार्थी हुँदा दश वर्ष जतिको उमेरमा रामलीला नाटक हेरेपछि उनलाई  रङ्गमञ्चको नशा चढ्यो। कालान्तरमा समको सङ्गतमा परेपछि उनी आजीवन नाटकमै लागिरहे।

मल्लले झण्डै तीन सय नाटकमा काम गरेका छन्। कुनैमा अभिनय गरे, कुनैमा लेखन, कुनैमा निर्देशन त अनि कुनैमा मञ्च सजाउने काम पनि गरे। उनका नेपाली रङ्गमञ्च, ऐतिहासिक नाटक सङ्ग्रह, मातृप्रेम, तिलंगा, पश्चात्ताप लगायत आधा दर्जन कृति प्रकाशित छ।

“उहाँ आफैं नेपाली नाट्य क्षेत्रको इतिहास सरह हुनुहुन्थ्यो,” नाट्य विधामा शोध गरेका शिव रिजाल भन्छन्, “आफू पनि इतिहास लेखनमा संलग्न हुनुका साथै सम र अन्य ऐतिहासिक व्यक्तिसँग काम गरेकाले उहाँ नाट्य इतिहासको धरोधर नै हुनुहुन्थ्यो।”

मल्लको पुरानो घर काठमाडौंको गुुच्चाटोलमा थियो। उनका बुबाको सरुवा बाराको परवानीपुरको कृषि फारममा भएपछि परिवारै तराई झरेको थियो। वीरगञ्जमा वेलावेला भारतबाट आउने नाट्य टोलीले हिन्दी र उर्दू भाषामा गर्ने रामलीला मञ्चन गर्थ्यो। त्यसैको रस पसेपछि उनी सबै कुरा छोडेर नाट्य क्षेत्रमै ध्यान केन्द्रित गर्न थाले। तराईबाट परिवार काठमाडौं आएपछि उनी समको सङ्गतमा पुगे।

मल्लको अर्को विशेषता भनेको नेपालको रङ्गमञ्चलाई आधुनिक प्रारूपमा ढाल्नु हो। उनले २०२४ सालमा रसियामा नाट्य विधा पढेपछि मञ्चको महत्त्व बुझे। “अनि त्यो कुरा आफूपछिका सबैलाई बुझाए,” सुवेदीले भने। उनका अनुसार, ‘नाटक भनेको सेट अर्थात् मञ्चले भन्ने विधा हो’ भन्ने मान्यता मल्लले नै नेपाली नाट्य क्षेत्रमा स्थापित गराएका हुन्। “नेपालका थिएटर बनाउन खटिने उनै हुन्,” सुवेदी भन्छन्, “सेना, प्रहरीका मञ्च र नाचघर लगायतको परिकल्पनाकार उनी नै हुन्।”

उति वेला नाटकका सबै प्राविधिक ज्ञान भएका व्यक्ति मल्ल मात्रै रहेको कलाकार तथा निर्देशक मदनदास श्रेष्ठ बताउँछन्। “नाटकमा प्रयोग हुने पर्दा, प्रकाश, ध्वनि लगायत सबै विधा उहाँले नै नयाँ पुस्तालाई सिकाउनुभएको हो,” उनी भन्छन्, “त्यस्तै धेरै कलाकार जन्माउने श्रेय पनि उहाँलाई जान्छ।”