राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूबीच राष्ट्रिय सभाको निर्वाचनबारे छलफल हुन लागेको हो।

गठबन्धनको बैठकले फगुन २१ देखि रिक्त हुने राष्ट्रिय सभाका २० सिटमा कुन दललाई कति उम्मेदवार दिने भन्नेबारे छलफल हुने बताइएको छ।

आगामी फागुन २१ गतेबाट चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। त्यसमा एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन्।

राष्ट्रपतिबाट मनोनीत हुने एकबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ।

सत्ता गठबन्धन आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन्।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले राष्ट्रिय सभाका सदस्य छनोट गर्नेछ।

राष्ट्रिय सभाका २ हजार २५ मतदातामध्ये ५ सय ३२ जना प्रदेशसभा सदस्य, १ हजार ४ सय ९३ जना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेका छन्।