वैदेशिक रोजगारीको नाममा हुने व्यक्तिगत ठगी बढ्दै

वैदेशिक रोजगारीको नाममा हुने व्यक्तिगत ठगी बढ्दै

वैदेशिक रोजगारीको नाममा हुने व्यक्तिगत ठगी बढ्दै गएको छ ।

सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन नपाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको पहिलो ५ महिनाको विवरणमा ठगीको दाबी रकम एक करोड ७१ लाख ७६ हजार ९ सय २० रुपैयाँबाट बढेर १३ करोड ७० लाख ९८ हजार ४ सय ६० रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको मंसिर महिनासम्म ११ करोड ९९ लाख २१ हजार ५ सय २९ रुपैयाँ बराबर ठगिएको जनाउँदै पीडित युवाले रकम दाबी गर्दै विभागमा उजुरी दिएको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए । चालू आवको पहिलो ५ महिनामा ठगीको दाबी रकम १३ कारोड ७० लाख पुगेको छ । गत वर्ष ठगीमा परेर विभागमा उजुरी दिनेको संख्या १ सय ८ रहेकोमा चालू आवमा सो संख्या २ सय ३९ पुगेको छ ।

सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि चालू आर्थिक वर्षको ५ महिनामा व्यक्तिगत एक करोड ७० लाख रुपैयाँले बढेको उजुरी विभागमा दर्ता भएको छ । गत आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १ सय ८ वटा व्यक्तिगत उजुरीमा ११ करोड ९९ लाख २१ हजार ५ सय ३१ रुपैयाँ बराबरको ठगीको उजुरी परेकोमा हाल आएर बढेको देखिन्छ ।
विभागले गत ४५ वटा उजुरीविरुद्ध अदालतमा मुद्दा दायर गरेको जनाएको छ । विभागको अनुुसन्धान तथा मुद्दा शाखाका अनुसार यो अवधिमा एक करोड विगो दाबीसहित अदातलमा मुद्दा दायर गरेको जनाएको छ । गत वर्षको यो अवधिमा २ सय ९ उजुरीमा साढे १५ करोड दाबी गरिएको थियो भने १ सय २२ उजुरी अदालतमा मुद्दा दायर गरिएको थियो । यो वर्षको मंसिरसम्म २८ उजुरी अदालतमा दर्ता गरिएको थियो । एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह सक्रिय रहेका कारण उजुरी बढेको देखिन्छ । व्यक्तिगत रूपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाए पनि पैसा बुभ्mने व्यक्ति संस्थाको कर्मचारी नभएको पाइएको विभागले जनाएको छ ।

श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रूपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ । विभागका अनुसार, व्यक्तिगत ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रूपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।
संस्थागत रूपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएको लगायतका उजुरी पर्ने गरेका छन् । सम्झौतामा खान र बस्नका लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ । 

ठगीको उजुरी सम्बन्धमा विभागले क्षतिपूर्तिको कारबाही गर्ने गरेको भए पनि उजुरीका घटनामा भने कमी आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकाले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी गर्नुपर्ने विज्ञको भनाइ छ ।