दिल्लीमा संक्रमित बढी तर अस्पताल खाली

दिल्लीमा संक्रमित बढी तर अस्पताल खाली


दिल्लीमा अहिले ६ हजार ३ सय ६० जना सक्रिय संक्रमित छन् । त्यसमध्ये अस्पतालमा २ सय ४७ जना मात्रै भर्ना छन् । अक्सिजन दिइनुपर्ने बिरामीको संख्या ८२ र भेन्टिलेटरमा जम्मा ५ जना छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सञ्चार माध्यमलाई दिएको सन्देशमा अस्पताल भर्ना हुने दर निकै कम हुनु ठूलो राहतको विषयक भएको बताए । तीन दिनअघिसम्म संक्रमितको संख्या अहिलेको तुलनामा दुई तिहाइ कम थियो । त्यतिबेला अस्पतालमा बिरामीको संख्या बढी थियो ।

‘संक्रमितमध्ये लगभग कसैलाई पनि अस्पताल लैजानुपर्ने अवस्था छैन । जानैपरे पनि अक्सिजन चाहिएको छैन,’ केजरीवालले भने, ‘यस पटकको संक्रमण मध्यम खालको छ । त्यही भएर कोही नआत्तिनुस् । सतर्कचाहिँ रहनुस् ।’ उनले कोभिडका विषयमा सर्वसाधारणहरू आतंकित हुने खाले समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरे ।

दिल्ली सरकारले पछिल्लो एक सातादेखि स्कुल, कलेज तथा सिनेमा हaल बन्द गराएको छ । सार्वजनिक यातायातले पनि सिटको आधा संख्यामा मात्रै यात्रु बोक्न पाउने नियम जारी गरिसकेको छ भने राति १० बजेपछि हिँड्डुलमा प्रतिबन्ध लगाइएको छ ।

गत वर्ष दोस्रो लहर सुरु हुने बेला मार्च २७ मा दिल्लीमा अहिलेकै जस्तो हाराहारीमा सक्रिय संक्रमित थिए । त्यस दिन ६ हजार ६ सय संक्रमित रहेकोमा १ हजार १ सय १५ जनालाई अक्सिजनको सहारामा अस्पतालमा राखिएको थियो । १ सय ४५ जना भेन्टिलेटरमा थिए ।

‘संक्रमितको संख्या गत वर्षकै जस्तो छ, तर अस्पताल, अक्सिजन र भेन्टिलेटर चाहिएको छैन,’ मुख्यमन्त्री केजरीवालले भने, ‘यो सुखद पाटो हो, दिल्लीमा हाल ३७ हजार अक्सिन बेड तयारी अवस्थामा छन् । सरकारको तयारी पनि पूरा रहेकाले कोही पनि नआत्तिनु होला ।’ दिल्लीमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ९४ जना संक्रमित थपिएका छन् । संक्रमण दर ४ दशमलव ५९ देखिएको छ ।