पदाधिकारी चयन नगरी माओवादीको बैठक स्थगित, अर्को बैठक पुस २५ गते बस्ने

पदाधिकारी चयन नगरी माओवादीको बैठक स्थगित, अर्को बैठक पुस २५ गते बस्ने

नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक पुष्पकमल दाहाललाई अध्यक्षमा चयन गर्दै स्थगित भएको छ । ललितपुरको सानेपामा भएको बैठकले अध्यक्षमा दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

अर्को बैठक पुस २५ गते बस्ने बताइएको छ । माओवादी केन्द्रको आइतबार ८ औं महाधिवेशनले केन्द्रीय समितिको चयन गरेको थियो । सोमबारको बैठकबाट अध्यक्षमा दाहाल चयन भए पनि पदाधिकारीहरूको भने टुंगो लागेको छैन ।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो २५ गतेको बैठकले लगाउने कृष्णबहादुर महराले जानकारी दिएका छन् । सोमबार नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा दाहाल सर्वसम्मतबाट चयन भएका हुन् ।

यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् । उनले अध्यक्षमा निर्वाचित भएपछि आफूलाई महत्वपूर्ण परिस्थितिमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी आएको प्रतिक्रिया दिएका थिए ।

माओवादीले १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।