कैलालीमा एक वर्षको अवधिमा २४४ घटना घटे, सबैभन्दा बढी घरेलु हिंसा

महिला र पुरुष गरी २४४ जना पीडित

धनगढी खबर    

कैलालीमा एक वर्षको अवधिमा २४४ घटना घटे, सबैभन्दा बढी घरेलु हिंसा

धनगढी । कैलालीमा एक वर्षको अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । सन् २०२१ को जनवरीदेखि डिसेम्बर महिनासम्म घरेलु हिंसाबाट १२२ जना महिला पीडित भएका हुन् । जिल्लामा संकलन गरिएका २२४ घटनामा महिला र पुरुष गरी २४४ जना पीडित भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले जनाएको छ ।

मङ्गलवार धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस जिल्लामा महिला र पुरुष गरी २ सय ४४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । एक वर्षको अवधिमा २ सय १५ महिला र २९ जना पुरुष गरी २ सय ४४ जना पीडित भएको इन्सेक सुदूरपश्चिम संयोजक खडक राज जोशीले जानकारी दिए ।

उनका अनुसार घरेलु हिंसाबाट १ सय २२ जना, बलात्कारबाट २० जना, बलात्कार प्रयासबाट १० जना, बेचबिखनबाट सात जना र बहुविवाहबाट १७ जना महिला पीडित भएका हुन् । यसै गरी बलात्कारबाट २० जना, बेचबिखनबाट ६ जना, यौनदुर्व्यवहारबाट ६ जना र बलात्कार प्रयासबाट तीन जना बालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ ।

यस्तै कथित बोक्सीको आरोपबाट एक जना महिला पीडित भएकी छिन् । आत्महत्या दुरुत्साहनबाट दुई जना महिलाले आत्महत्या गरेका छन् भने एक बालिकाको बलात्कारपश्चात हत्या भएको इन्सेक सुदूरपश्चिमको अभिलेखमा छ । साथै एक वर्षको अवधिमा राज्य पक्षबाट एक जनामाथि दुर्व्यवहार, प्रहरीको गोली लागेर दुई जना घाइते र १० जना गिरफ्तार गरेको अभिलेख छ । यसै गरी गैर राज्य पक्षबाट चार जनालाई कुटपिट र तीन जनालाई धम्की दिइएको छ ।

गैर राज्यबाट धारिलो हतियार प्रयोग गरी ८ जना पुरुषको हत्या गरिएको इन्सेकमा अभिलेख छ । जिल्लामा अझै पनि महिला हिंसाका घटनामा कमी नआएको इन्सेक सुदूरपश्चिम संयोजक जोशी बताए । यस्ता घटनामा कमी ल्याउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने कुरामा उनले जोड दिए । 



मङ्गलबार २०, पुष २०७८ ०५:५७ मा प्रकाशित

#घरेलु हिंसा #कैलाली
Loading...

प्रतिकृया दिनुहोस