कैलाली प्रहरीद्धारा धनगढीबाट खसी बोकासहित ३ जना नियन्त्रण

कैलाली प्रहरीद्धारा धनगढीबाट खसी बोकासहित ३ जना नियन्त्रण

धनगढी । कैलालीमा अवैध रूपमा ओसार-पसार भइरहेका खसी बोका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित चौराहाबाट ४५ ओटा खसी बोका नियन्त्रणमा लिइएको हो ।

कञ्चनपुर पुर्नवास नगरपालिका-८ का ३६ वर्षीय राम किशोर रानाले चलाएको सुपप्र ०१-००२ त ५१८२ नम्बरको ट्याक्टरमा अवैध रूपमा ओसारपसार भइरहेका ४५ ओटा  खसी बोका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा साथमा उक्त खसी बोकाको क्वारेन्टिन कागजपत्र नभएको भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

यस्तै ट्याक्टर र खसी बोकासहित तीन जनालाई पनि नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ का ४१ वर्षीय टंक बहादुर थापा, तनहुँ  जिल्लाको फिरफिरे का ३७ वर्षीय तिल प्रसाद पौडेल र कञ्चनपुरको पुर्नवास नगरपालिका-८ का ३६ वर्षीय राम किशोर रानालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको डिएसपी जोशीले जानकारी दिए ।