मन्त्री जोशीद्धारा बैतडी कारागारको अनुगमन, कैदीका लागि सीपमूलक तालिम उद्घाटन

मन्त्री जोशीद्धारा बैतडी कारागारको अनुगमन, कैदीका लागि सीपमूलक तालिम उद्घाटन

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार बैतडीको निरीक्षण तथा अनुगमन गरेकी छिन् । बिहीबार मन्त्री जोशी सहितको टोलीले कारागारको निरीक्षण तथा अनुगमन गरेको हो ।

कारागारको सुदृढीकरण गर्ने कार्यक्रम अन्तर्गत कारागारको अवस्था लगायतका बारेमा अनुगमन निरीक्षण गरिएको हो । मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९को वार्षिक कार्यक्रमअन्तर्गत सीप मूलक तालीम र पुर्बाधारकार्यक्रमको सुरुवात र सहज वातावरण बनाउन मन्त्री जोशीसहितको टोली जिल्ला कारागार बैतडी पुगेको हो ।

कारागारभित्रका कैदीबन्दीहरुको आयआर्जनका लागि सीपमूलक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले बैतडी कारागारलाई ४ लाख बजेट विनियोजन गरेको मन्त्री जोशीले जानकारी दिइन् । कारागारभित्र रहेका कैदीबन्दीले सीपमूलक कार्य गर्न सकुन् र व्यावसायिक बन्न सकुन् भन्ने उद्देश्यले बजेट विनियोजन गरेको उनको भनाई छ ।

यस्तै चालू आर्थिक वर्षमा जिल्ला कारागारको मर्मत सम्भारका लागि ८ लाख बजेट विनियोजन गरिएको मन्त्री जोशीले बताइन् । जिल्ला कारागारका जेलर अनिल तिवारीका अनुसार जिल्ला कारागारभित्र क्षमताभन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता छ ।

जसमा १५ जना पुरुष र १० जना महिला हुनु पर्ने ठाउँमा ५९ जना कैदी र २१ जना थुनुवा राख्नु पर्ने अवस्था आएको उनले बताए । यस्तै कारागारमा ३ जना ज्येष्ठ नागरिक समेत रहेका छन् । क्षमता भन्दा तेब्बर कैदी बन्दी राख्नु परेको छ ।

२५ जनाको क्षमता भए पनि अहिले ८१ जना कैदिबन्दी रहेको जेलर तिवारीले जानकारी दिए । मन्त्री जोशीले कैदीबन्दिहरुका लागी ३ महिने सिलाइ कटाइ र विद्युत वारिङ्ग सम्बन्धी तालिम समेत उद्घाटन गरेकी छिन् । 

कारागार निरीक्षण कार्यक्रममा मन्त्री जोशीसँगै बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक गणेश शाह, प्रहरी नायव उपरीक्षक रमेश बहादुर पाल, अनुसन्धानका डिएसपी र पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यस्तै मन्त्री जोशीले सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको कार्यक्रम अन्तर्गत सिमानाका स्वास्थ्य केन्द्र झुलाघाटको पनि अनुगमन गरेकी थिइन । झुलाघाट नाकामा रहेको हेल्पडेस्कका कर्मचारीहरू दिनभरि नेपालमा डिउटी गरेर साँझ सुत्नलाई झुलाघाट पारी जानु पर्ने बाध्यता रहेको छ ।

यो समस्या समाधान गर्ने मन्त्री जोशीले आश्वासन समेत दिएकी छिन् । साथै मन्त्री जोशीले आजै बैतडी जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सँग अन्तरक्रिया समेत गरेकी हुन् ।