कैलालीसहित सुदूरका ८ जिल्लामा एमालेको अधिवेशन हुँदै, यी हुन् अध्यक्षका आकांक्षी

कैलालीसहित सुदूरका ८ जिल्लामा एमालेको अधिवेशन हुँदै, यी हुन् अध्यक्षका आकांक्षी

धनगढी ।  सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा आज नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ । बझाङ बाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा आज जिल्ला अधिवेशन हुन लागेको हो ।

दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।

सोही अनुसार यहाँका ८ जिल्लामा जिल्ला अधिवेशन हुन लागेको एमाले एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । बझाङमा भने केही समय पछि अधिवेशन हुने उनको भनाइ छ ।

सबै जिल्लामा अहिले सम्म अध्यक्षमा दुई वा सो भन्दा बढी आकांक्षी देखिएका छन् । कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला सचिवालय सदस्य डेजी पाण्डे आकांक्षी देखिएका छन् ।

कञ्चनपुरमा वर्तमान अध्यक्ष वीरबहादुर थापा र सचिव सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिएका छन् । थापा तत्कालीन नेकपा हुँदा समेत कञ्चनपुरका अध्यक्ष थिए भने बिष्ट भीमदत्त नगरपालिकाका मेयर हुन् । दुवै जनाले अध्यक्षमा दाबी गरेका छन् ।

डडेल्धुरामा चार जनाले अध्यक्षमा दाबी गरेका छन् । वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल अध्यक्षका आकांक्षी देखिएका छन् । सहमतिको प्रयास भइरहेको जिल्लाका नेताहरूको भनाइ छ ।

बैतडीमा पनि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन् । पाललाई नै पुन अध्यक्ष बनाउनु पर्ने आवाज बढी उठिरहेको नेताहरू बताउँछन् ।

दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् । उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका लागि आकांक्षी देखिएका छन् । तर, वर्तमान अध्यक्ष पुन अध्यक्ष बन्न सक्ने आँकलन गरिएको छ ।

बाजुरामा कालीबहादुर शाही, भरत थापा, र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । शाही वर्तमान अध्यक्ष हुन् । थापा र ओली भने पदाधिकारीमा छैनन् । तर, तीनै जना लोकप्रिय नेता मानिन्छन् ।

अछाममा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैसी अध्यक्षको दौडमा छन् । शाहले पत्रकार सम्मेलन नै गरे अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अन्य दुई नेता भने आन्तरिक तयारीमा जुटेका छन् ।