एलपीएललाई डिस होमको पनि साथ

एलपीएललाई डिस होमको पनि साथ

धनगढी । धनगढीमा अगामी माघ २२ गते बाट आयोजना हुने विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल ६ लाई डिस मिडिया नेटवर्क लिमिटेडलेप्रायोजन गरेको छ ।

प्रतियोगितामा सहप्रायोजक रहने गरी डिस मिडिया नेटवर्क लिमिटेड का तर्फबाट शुक्रबार सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गत सिजनबाट नै प्रतियोगितालाई प्रायोजन गर्दै आएको डिस होमले यस बर्ष पनि सहयोगलाई निरन्तरता दिएकोमा शाहीले हस्ताक्षर समारोहपछि धन्यवाद ज्ञापन गरे । प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालयका टिमको सहभागिता रहने बताइएको छ ।

जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।

त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ एभरेस्ट एकेडेमी अत्तरियाले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।