सुदूरमा ओमीक्रोनको जोखिम बढ्दो, धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टरको निर्माण कार्य अझै सकिएन

सुदूरमा ओमीक्रोनको जोखिम बढ्दो, धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टरको निर्माण कार्य अझै सकिएन

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको तेस्रो भेरीयन्ट ओमीक्रोनको जोखिम बढ्दै गइरहेको भए पनि  कैलालीको धनगढीमा निर्माण भइरहेको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएको छ । तदारुकताका साथ काम नहुँदा गत भदौमै निर्माण सम्पन्न हुनु पर्ने होल्डिङ सेन्टर अझै अधुरै रहेको हो । 

धनगढी उप-महानगरपालिका - ३ बडहरास्थित एक सामुदायिक वनको जग्गामा बनिरहेको होल्डिङ सेन्टर तोकिएको समयावधिमा पूरा हुन नसकेपछि पुस मसान्तसम्म समय थप गरिएको छ । तर, थप गरिएको समयमा पनि निर्माण कार्य पूरा हुन सक्ने अवस्था नरहेको जनाइएको छ । असार देखी निर्माण कार्य थालिएको भए पनि होल्डिङ सेन्टर निर्माणमा भने समय लाग्ने भएको । नेपाल सरकारको लागतमा बनिरहेको सो होल्डिङ सेन्टरको गत असार ३ मा ठेक्का सम्झौता भएको थियो । 

श्री हनुमान कन्स्ट्रक्सनले २८ करोड ८१ लाख १२ हजार रुपैयाँमा ठेक्का पाएर काम गरिरहेको भए पनि बजेट अभावका कारण होल्डीङ् सेन्टर निर्माणमा असहज भएको हनुमान कन्स्ट्रक्सनका इन्जिनियर विक्रम गैरेले बताउनु भयो । अहिलेसम्म ठेक्काको २५ प्रतिशत निकासा भएको इन्जिनियर गैरेको भनाई छ । 

हालसम्म ७० प्रतिशत काम पूरा भइसकेको निर्माण कम्पनीले जनाएको छ । एक हजार मान्छेलाई राख्न सकिने होल्डिङ सेन्टरमा ३०० शैया तयार भइसकेको इन्जिनियर गैरेले बताउनुभयो । माघ मसान्तसम्म निर्माणको सबै काम पूरा गर्ने लक्ष्य रहेको इन्जिनियर विक्रम गैरेले बताउनु भयो । बजेट निकासामा ढिलाइ हुँदा आवश्यक सामान खरिद गर्न समस्या भएको र समान खरिद गर्न समस्या भएपछि निर्माणमा पनि ढिलाइ भएको इन्जिनियर गैरेको भनाई छ । 

निर्माण सामग्री पनि पर्याप्त मात्रामा उत्पादन नहुँदा काम गर्न ढिलो भएको निर्माण कम्पनीको भनाई छ  । सामुदायिक वनको जग्गामा निर्माण भइरहेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेनटाइन, २२ वटा शौचालय र १५ वटा डाइनिङ हलसहितको भान्सा बन्नेछ । सङ्घीय सरकारले केन्द्रबाटै होल्डिङ सेन्टरको ठेक्का सम्झौता गरे पनि निर्माण कार्यको अनुगमन÷निरीक्षणको जिम्मा भने धनगढी बोराडाँडी स्थित नेपाली सेनाको भवानी दल गणले पाएको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरिअन्ट देखिएको बेला स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो । होल्डीङ् सेन्टर निर्माणमा र पूर्वाधार निर्माणमा तिनै तहको सरकारले जोड दिनुपर्ने उहाँको भनाई छ ।